काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारमा बैठक बस्ने तय गरिएको छ। बैठकमा निर्वाचनको समग्र तयारी, सुरक्षा रणनीति तथा संवेदनशील क्षेत्रको अवस्थाबारे विस्तृत समीक्षा गरिने जनाइएको छ।
बैठकमा गृहमन्त्री, रक्षा मन्त्री, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरू लगायत परिषद्का पदाधिकारीहरू सहभागी हुनेछन्। निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्थापन, जनशक्ति परिचालन र आपत्कालीन तयारीबारे छलफल केन्द्रित रहने बताइएको छ।
भोलि हुने निर्वाचनलाई लक्षित गरी सुरक्षा निकायहरूले देशभर उच्च सतर्कता अपनाएका छन्। संवेदनशील तथा अतिसंवेदनशील मतदान केन्द्रहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको र स्थलगत अनुगमन तीव्र पारिएको सरकारी स्रोतले जनाएको छ।
सरकारले आम मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्दै निर्वाचन सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया