जनकपुरधाम । लामो समयदेखि अन्योलमा परेको धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यतर्फको मतपरिणाम अन्ततः सार्वजनिक गरिएको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट प्राप्त निर्देशनपछि मातृका प्रसाद यादव लाई विजयी घोषणा गरिएको हो।
धनुषा–१ का निर्वाचन अधिकृत मनोजकुमार बराल का अनुसार निर्वाचन आयोग नेपाल को केन्द्रीय कार्यालयबाट रोक्का रहेको मतपरिणाम घोषणा गर्न निर्देशनसहित पत्र प्राप्त भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार यादवलाई विजयी घोषणा गरिएको हो।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमल को उम्मेदवारी खारेजसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेका कारण धनुषा–१ को मतपरिणाम घोषणा रोकिएको थियो।
गत फागुन १९ गते निर्माण कम्पनीसँग सम्बन्धित विषयमा निर्वाचन आयोगमा साह कालोसूचीमा रहेको भन्दै उजुरी परेपछि आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। सो निर्णयविरुद्ध साह अदालत पुगेका थिए। उक्त विषयमा सर्वोच्च अदालत ले सोमबार कारण देखाउ आदेश जारी गरेको छ।
उम्मेदवारी विवाद अदालतमा पुगेपछि मतगणना सम्पन्न भए पनि धनुषा–१ को औपचारिक मतपरिणाम घोषणा हुन सकेको थिएन। निर्वाचन आयोगबाट स्पष्ट निर्देशन आएपछि मात्र नतिजा सार्वजनिक गरिएको हो।
निर्वाचन अधिकृत बरालका अनुसार रास्वपाका उम्मेदवार साहका मतपत्र भने हाल गोप्य रूपमा अलग राखिएको छ। अदालतमा मुद्दा विचाराधीन रहेको कारण ती मतपत्र छुट्टै सुरक्षित राखिएको उनले बताए।
मतपरिणामअनुसार नेकपा उम्मेदवार मातृका प्रसाद यादव ले १० हजार ४२८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का उम्मेदवार रामपल्टन साह ले ९ हजार ४८५ मत प्राप्त गरेका छन्। यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का उम्मेदवारले ९ हजार २२० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
लामो समयसम्म मतपरिणाम घोषणा नहुँदा धनुषा–१ मा राजनीतिक तथा कानुनी बहस चर्किएको थियो। निर्वाचन आयोगको पत्रपछि भने उक्त क्षेत्रको प्रतिनिधिसभा सदस्यतर्फको मतपरिणाम औपचारिक रूपमा टुंगिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया