नेपालमा बूढाले देश बिगारे, राजनीतिमा युवाको बाहुल्य हुनुपर्यो भन्ने चर्चा समय समयमा चल्ने गर्छ। विशेषगरी नेपाली कांग्रेस र पहिलेको एमाले अहिलेको नेपाल कम्युनिस्ट पार्टीका महाधिवेशनका पूर्वसन्ध्यामा यो विषयले भीषण रूप लिने गर्छ। उमेर ढल्केकाहरूले विश्राम लिएर पार्टी र सरकारका काममा युवालाई प्राथमिकता या स्थान दिनुपर्छ भन्ने आवाज जोडतोडका साथ चल्ने गर्छन्। मानौं, यस्तो प्रतीत हुन्छ, ६० वर्षभन्दा माथिकाले राजनीतिबाट सन्न्यास लिए भने नेपालको राजनीति, आर्थिक अवस्था र विकासको गतिले छुट्टै मोड लिन्छ। नेपाल र नेपालीका दुःखका दिन तत्काल सकिन्छन्। बूढाहरूले राजनीति छाडे समुन्नत राष्ट्र र समृद्ध नागरिकको देशमा नेपाल परिणत हुन्छ भने झैं गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी एमाले छँदा ७० वर्षभन्दा माथिका नेताहरूले जागिरे कर्मचारीले झैं अवकाश प्राप्त गर्ने व्यवस्था उक्त पार्टीको महाधिवेशनले नै गरेको थियो। पछि नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादीसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी नामको दल गठन गरेपछि भने उक्त बुँदा हटाइयो। नत्र भने ७० नाघेका नेता संविधान परिवर्तन गरेर प्रधानमन्त्री बन्ने कि राष्ट्रिय सभामा गएर उपप्रधानमन्त्री भन्ने विवाद अहिले चल्न पाउने नै थिएन। उक्त प्रावधान रहिरहेको भए आगामी महाधिवेशनमा अहिले नाम चलेकाहरूमध्ये धेरैले घरमा बसेर किताब पढ्ने वा आफ्ना विगत युवाहरूलाई सुनाएर रमाउने दिन नजिकै आइसक्थ्यो।
नेपाली कांग्रेसमा पनि प्रत्येक महाधिवेशनको सँघारमा युवालाई नेतृत्व प्रदान गर्नुपर्यो भन्ने आवाज जोडतोडका साथ चल्ने गर्छ र अहिले पनि त्यही पुनरावृत्ति भइरहेको छ। कहिले सातजना, कतै १२ जना त कतै १४ जना युवा गोलबद्ध भएर विज्ञप्ति प्रकाशन गर्ने, पाका नेताहरूलाई थर्काउने र युवाका तर्फबाट उम्मेदवारी दिने घोषणा गरेको देख्न पाइन्छ। ती समूहका समर्थकले पनि कतिले कुरा बुझेर र कतिले त्यत्तिकै होमा हो मिलाउँदै युवाले नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गर्दै सामाजिक सञ्जाल तताइरहेका पनि छन्। पर्यवेक्षकको अनुमानचाहिँ के छ भने ती समूहमा रहेका कुनै एकलाई एक पाको नेताले आफ्नो समूहबाट पदाधिकारीमा लड्न आह्वान गरे भने समूह परित्याग गरेर तत्कालै दौडिन्छन्।
पार्टीको नेता या सरकारमा रहने व्यक्ति युवा हो कि होइन भन्ने प्रमुख भने होइन। उसको चरित्र कस्तो छ ? उसले कस्ता काम गर्छ ? उसको विचार कस्तो छ ? आदिले महत्त्व राख्ने गर्छन्। संयुक्त राष्ट्रसंघले त १५ देखि २४ वर्षका मानिसलाई मात्र युवा मान्दछ भने नेपालमा भने १६ देखि ४० वर्षकालाई युवा मानिन्छ। समय, देश र परिस्थितिअनुसार देशैपिच्छे युवाको वर्गीकरण फरकफरक पाइन्छ। तर जुनसुकै परिभाषा अँगाल्ने हो भने पनि अहिले युवामा नेतृत्व सर्नुपर्यो भनेर कराउनेहरू भने युवामा पर्दैनन्। त्यसैले पनि यो माग भनेको युवामा हस्तान्तरण होइन कि पुस्ता हस्तान्तरण मात्र हो।
प्रसिद्ध राजनीतिज्ञ चाणक्यले पनि युवालाई संसारको सबैभन्दा ठूलो शक्ति मानेका छन् तर युवा भनेको त्यही उमेर मात्रै पक्कै होइन। स्पेनिस चित्रकार पाब्लो पिकासोले भनेका थिए–युवा उमेरसँग सम्बन्धित हुँदैन। विचार र उत्साहसँग सम्बन्धित हुन्छ। प्रसिद्ध अमेरिकी गीतकार एवं गायक कर्ट कोबेन पनि भन्ने गर्दथे– युवाको कर्तव्य भ्रष्टाचारलाई चुनौती दिनु हो। युवामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने मान्यता राख्ने आफैंले छातीमा हात राखेर सोचे भने तीमध्ये कति युवा पर्लान् ? कतिले राजनीतिलाई विराम दिँदा उचित होला ? कति युवा नेता भनिएका विचार निर्माण, प्रदान र ग्रहणमा सक्रिय छन् ? कति चेतनाविहीन ? कति युवा भ्रष्टाचारविरोधी छन् ? कति भ्रष्टाचारमा लिप्त ?
जसमा जाँगर छ, उसलाई युवा भन्ने हो भनेचाहिँ नेतृत्व हस्तान्तरणको माग गर्नेहरू शारीरिक सामथ्र्यका कारणले युवा हुन्। नेपाली राजनीतिका शिखर पुरुष बीपी कोइरालाले भन्नुभएको थियो– शारीरिक सामथ्र्य भए पनि कुनै युवक मानसिकरूपले कमजोर छ र कुनै नयाँ विचार दिन सक्दैन भने उसको युवा उमेरको सार्थकता कहाँ रह्यो र ? तर एउटा बूढोमा शरीर भने अशक्त रहे पनि मस्तिष्कचाहिँ चनाखो छ, आफ्नो आदर्शप्रति निष्ठावान् छ, हरकष्ट सहन तयार छ, जवाफदेही बहन गर्न तयार छ र नयाँ–नयाँ विचार दिन र ग्रहण गर्न तयार छ, हठधर्मी छैन भने त्यसलाई बूढो, अर्को जमानाको मान्छे भनेर कसरी पञ्छाउन सकिन्छ ? यो भनाइ आत्मसात् गर्ने हो भने पनि कतिपय युवामा पर्लान्, कतिपय पचासमुनिकै भए पनि वृद्ध कहलिन सक्छन्।
राजनीति त विचारले चल्ने कुरा हो, उमेरले हुँदै होइन। जो निरन्तर विचार निर्माण प्रक्रियामा छ, ऊ राजनीतिबाट कहिल्यै पर जानु पर्दैन। राजनीति भनेको त जनताको शान्तिसुरक्षा कायम गर्ने र मौलिक अधिकारको कदर गर्ने नीति हो। राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने नीति हो। राज्य र प्रशासनसँग सम्बन्धित सामाजिक सिद्धान्त राजनीति हो भने यसका सम्पूर्ण मर्म जान्ने, राजनीतिशास्त्रका ज्ञाता, राजनीति बुझेको, कूटनीति जानेको मान्छे राजनीतिज्ञ हो। तसर्थ पनि यस्ता कुरामा दक्खल राख्न र राजनेता हुन उमेरले छेक्ने कुनै कारण देखिँदैन। अमेरिकामा ७० काटेकालाई राष्ट्रपतिमा प्रस्ताव गरिएको र मलेसियामा ९० काटेकालाई प्रधानमन्त्री बनाइएको सबैले देखेकै छौं।
बरु ध्यान दिनुपर्ने कुरा अरू नै छन्। चाणक्यले नै भनेका छन्–सुन शुद्ध छ कि छैन भनेर परीक्षण गर्न त्यसलाई घोटिन्छ, काटेर हेरिन्छ, आगोमा पगालिन्छ र पिटेर जाँच गरिन्छ। सुनमा मिलावट रहेनरहेको कुरा यी चार काम गरेपछि प्रमाणित हुन्छ। त्यसैगरी कुनै व्यक्ति भरोसा गर्न योग्य छ कि छैन भन्नका लागि पनि चार कामबाट बुझ्न सकिन्छ। पहिलो–उसमा त्यागको भावना कति छ हेर्नुपर्छ। उसले अर्काको खुसीका लागि आफ्नो खुसी त्याग गर्न सक्छ कि सक्दैन भन्ने हो। दोस्रो–उसको चरित्र हेर्नुपर्छ। उसले अरूका निमित्त कस्तो मानवीय भावना राख्छ भन्ने पर्गेल्नुपर्छ। तेस्रो– उसका गुण र अवगुण केलाउनुपर्छ। चौथो–उसका कर्ममा ध्यान दिनुपर्छ। विशेषगरी उसले गलत कर्मका माध्यमबाट धन आर्जन त गर्दै छैन भनेर विचार गर्नुपर्छ। नेता हुन तम्सिएकाका बारेमा पनि ध्यान दिनुपर्ने यिनै कुरा हुन्।
पुस्ता हस्तान्तरणले मात्रै परिवर्तन आउने भए त नेपालमा स्वास्थ्यमन्त्री बूढो पुस्ताका त थिएनन् नि। औषधिजन्य सामग्री खरिदमा त्यत्रो कमजोरी किन हुन्थ्यो र अहिले मास्क लगाएर मात्रै समाजमा निस्कनुपर्ने अवस्था आउँथ्यो। कृषिमन्त्री घनश्याम भुसालमाथि जनताको कत्रो भरोसा थियो, तर उनैले वर्षामा धानमा हाल्नुपर्ने मल हिउँदमा मात्रै आइपुग्ने घोषणा गरिसके। उमेरले नै हुन्थ्यो भने शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा प्राडो पजेरो काण्ड किन हुन्थ्यो। २०४७ मा किसुनजी प्रधानमन्त्री हुँदा वृद्ध भइसक्नुभएको थियो तर देशले खोजेअनुसारको संविधान र चुनाव सम्पन्न भएको थियो। २०४८ मा गिरिजाबाबु पनि वृद्ध वर्गमै पर्नुहुन्थ्यो तर बजेटको ७० प्रतिशत अंश गाउँमा जाने व्यवस्थाको सुरुआत गरेर ग्रामीण क्षेत्रको विकासको आरम्भ हुन पुगेको थियो।
२०५२ मा नेकपा एमालेको सरकार हुँदा नेकपा एमालेका सबै नेताहरू लगभग युवा नै थिए तर भ्रष्टाचारका काण्ड कति भए, राज्यको ढुकुटीमा कसरी रजाइँ गरे ? सबैलाई सम्झना हुनैपर्ने हो। नौ महिनाको सत्ता स्वाद चाख्दानचाख्दै सबै नेताहरूले राजधानीमा घरघडेरी र गाडी, घोडा जोडेको कुरा नजरअन्दाज कसरी गर्ने ? नेकपा माओवादीले १७ हजार सोझासाझा गाउँका जनता र परिवारको दुई छाकको भोक टार्न प्रहरी र सेनामा जागिर खाएकाहरूको ज्यान जाने र लिने गरी विध्वंस सिर्जना गर्दा प्रचण्ड र बाबुरामहरू युवा नै थिए। त्यो द्वन्द्वलाई पूर्णरूपेण गलत ठानेर अहिले उनीहरू संसदीय व्यवस्थामै फर्केका छन् र उनीहरूबाट सत्तामा रहँदा भएगरेका भ्रष्टाचार उल्लेख गरी रहन पर्दैन।
पुस्ता हस्तान्तरणको कुरा सर्वथा गलत नहोला। २०४८ सालदेखि अहिलेसम्म नेपाली कांग्रेस र नेकपामा उनै नेताको नेतृत्व हुनु र मुलुकको मुहार फेरिन नसक्नुले यो आवाजलाई टेवा दिएको छ। यति हुँदाहुँदै पनि जो नेता विचार निर्माणमा शून्य छ, भ्रष्टाचारमा लिप्त छ र परिवारवादमै रमाउँछ या गुटगत स्वार्थमै केन्द्रित छ, उसको बिदाइ अपरिहार्य छ। जो जनसेवा र मुलुक सेवामै समर्पित रह्यो, उसलाई बूढो भनेर खेद्नु पनि अन्याय नै हुन्छ। जो उमेरले कम छ, तर उसको जीवनशैलीमा राजनेतामा हुनुपर्ने कुनै गुण छैन, उसलाई स्वीकार गर्ने भन्ने पनि गलत नै हुन जान्छ।
त्यसैले पुस्ता हस्तान्तरणभन्दा स्वच्छ राजनीतिको पहल युवाहरूबाट देशले खोजेको छ। बिचौलिया र ठेकेदारको चंगुलबाट राजनीतिक दल र त्यसका नेताहरूलाई मुक्त गर्न सक्ने पुस्ताको खोजी जनताले गरिरहेका छन्। भ्रष्टाचारको कुनै पनि दाग नलागेका र निरन्तर भ्रष्टाचारको विरोध गरिरहने नेताको जमात आजको आवश्यकता हो। समग्रमा मुलुकको भविष्य सुनौलो बनाउने लक्ष्य, दृष्टि र योजनासहितको नेताहरूको समूह सबैको चाहना हो। राजनीतिलाई पेसा ठान्नेबाट मुलुकलाई मुक्त राख्नु नै आजको सबैभन्दा ठूलो चुनौती हो। अन्नपूर्णपोष्टबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया