काठमाडौं । अमेरिकी सेनाको प्रशान्त कमान्डका उपकमाण्डर लेफ्टिनेन्ट जनरल जोएल “जेबी” भोवेल आइतबार तीनदिने भ्रमणका लागि काठमाडौं आउने भएका छन्।
नेपाल सेनाका प्रवक्ता ब्रिगेडियर जनरल राजाराम बस्नेतका अनुसार जनरल भोवेल भुटान हुँदै काठमाडौं आउने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति सञ्चालन तालिम केन्द्रको अवलोकन गर्नेछन्।
उक्त तालिम केन्द्रमा नेपाली सेनाका साथै विभिन्न देशका सैनिकहरूलाई संयुक्त राष्ट्रसंघका शान्ति स्थापना मिसनमा सहभागी हुनुअघि आवश्यक तालिम दिइन्छ। भ्रमणका क्रममा उनले नेपाली सेनाले सञ्चालन गरिरहेका शान्ति मिसनसम्बन्धी गतिविधिहरूको पनि अवलोकन गर्ने बताइएको छ।
अमेरिकी दूतावासको समन्वयमा हुने यस भ्रमणका क्रममा जनरल भोवेलले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल लगायत वरिष्ठ सैन्य अधिकारीहरूसँग पनि भेटवार्ता गर्न सक्ने सम्भावना रहेको जनाइएको छ।
यसअघि मार्च १२ मा जनरल भोवेलले भारतका सेनाप्रमुख उपेन्द्र द्विवेदीसँग भेट गरी अमेरिका–भारत रक्षा सहकार्यलाई अझ मजबुत बनाउने विषयमा छलफल गरेका थिए। उक्त भेटमा हिन्द–प्रशान्त क्षेत्रको सुरक्षा, संयुक्त सैन्य अभ्यास तथा सैन्य सहकार्य विस्तारका विषयमा पनि कुराकानी भएको बताइएको छ ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नेपाल भ्रमणमा आउने उनी उच्च तहका अमेरिकी सैन्य अधिकारीमध्ये एक हुने जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया