काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ के नेपाल को लायन वर्ष २०२६/२७ का लागि नेतृत्व चयन प्रक्रिया तीव्र बनेको छ। सोही क्रममा डिष्ट्रिक्ट गभर्नर तथा फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवारहरूले व्यापक समर्थनसहित संयुक्त रूपमा मनोनयन दर्ता गरेका छन् ।
स्काइ रेष्ट्रो एण्ड बैंकेटमा आयोजित विशेष कार्यक्रममा वर्तमान फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीले डिष्ट्रिक्ट गभर्नर पदका लागि र वर्तमान सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर बिष्णुहरी फुँयालले फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि मनोनयन दर्ता गराएका हुन्।
कार्यक्रममा प्रमुख अतिथि पूर्व अन्तराष्ट्रिय निर्देशन तथा ग्याट कन्स्टिच्युस्नल एरिया लिडर बालकृष्ण बुर्लाकोटीले वर्तमान नेतृत्व टोलीले संस्थागत एकता, सेवा भावना र अनुशासनलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै आगामी नेतृत्व पनि त्यसै परम्परालाई निरन्तरता दिने विश्वास व्यक्त गरे। उनले उम्मेदवारहरू अनुभव, क्षमता र समन्वयशीलताको दृष्टिले सक्षम रहेको भन्दै सर्वसम्मत समर्थनले डिष्ट्रिक्टलाई अझ बलियो बनाउने बताए। यस्तै, विशिष्ट अतिथि एलसिआइएफ एरिया लिडर एवं आइडी इन्डोर्सी राजन लम्सालले लायन्स आन्दोलनलाई प्रभावकारी बनाउन सहकार्य र एकतामै शक्ति निहित रहेको उल्लेख गर्दै प्रस्तावित नेतृत्वप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाए।
उम्मेदवारहरूले पनि आफ्नो मन्तव्य राख्दै डिष्ट्रिक्टलाई नमूना बनाउने, सेवा कार्यक्रमलाई थप प्रभावकारी बनाउने र सदस्यबीच सहकार्य बढाउने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा नोमिनेसन कमिटीका को चिफ अरुण लामिछानेलाई औपचारिक रूपमा मनोनयन पत्र हस्तान्तरण गरिएको थियो। साथै, क्याबिनेट पदाधिकारीहरू, वरिष्ठ लायन्स लिडरहरू तथा विभिन्न क्लबबाट प्रतिनिधित्व गर्ने विभागिय प्रमुख तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो, जसले उम्मेदवारप्रति व्यापक समर्थन रहेको संकेत गरेको थियो।
डिष्ट्रिक्ट ३२५ के नेपालको चौथो कन्भेन्सन आगामी वैशाख १२ गते काठमाडौंमा हुने तय भएको छ, जहाँ नयाँ नेतृत्व औपचारिक रूपमा चयन हुने अपेक्षा गरिएको छ। यसअघि सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि हसन कुमार गोपालीले पोखरामा मनोनयन दर्ता गराइसकेका छन् । समग्रमा, सहमति र एकताको वातावरणमा अघि बढिरहेको नेतृत्व चयन प्रक्रियाले डिष्ट्रिक्टलाई आगामी दिनमा अझ सशक्त र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया