काठमाडौंः संघीय संसदमा महिला सदस्यहरुको भेलाले महिला हिंसासँग सम्बन्धित घटना अध्ययन गरी सरकारलाई सुझाव दिन एक समिति गठन गरेको छ ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको महिला सांसदको भेलाले पुष्पा भुसाल, शान्ता चौधरी, प्रमिला कुमारी, अमृता थापा, लक्ष्मी परियार, विन्दा पाण्डे र पार्वती रावल रहेको समिति गठन गरेको हो ।
समितिले बलात्कार घटनामा प्रंहरीले जाहेरी लिन नमानेको, जनप्रतिनिधि र परिवारका सदस्यले गराउने मिलापत्र, बलात्कारका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालगायतका विषयमा अध्ययन गर्ने सांसद पाण्डेले जानकारी दिइन् । यो समितिले नेपालमा बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनका लागि कानुनी व्यवस्था गर्न तथा संविधान संशोधनको पहल गर्ने बताइएको छ ।
त्यसका लागि अन्तर्राष्ट्रिय सन्धि अध्ययन गर्ने संयोजक पाण्डेले बताइन् । पछिल्लो समय किशोरी, दलित, गरिब र दूरदराजमा रहेका बालिकाहरूमाथि बलात्कार घटनामा तीव्रता आएको पाण्डेको भनाइ छ । त्यस्तै, समितिले बलात्कारका मुद्दालाई फास्ट ट्र्याकमा सुनुवाइ गर्नका लागि के गर्न सकिन्छ भन्नेबारे पनि अध्ययन गरेर सुझाव दिइने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया