वासिङ्टन, २५ वैशाख (रासस/सिन्ह्वा) :अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीनवटा अमेरिकी नौसेनाका ‘डेस्ट्रोयर’ हरू सुरक्षित रहेको र कुनै क्षति नभएको जानकारी दिनुभएको छ । ती युद्धपोतहरू हालै हर्मुज जलडमरूमध्य पार गर्ने क्रममा रहेका थिए ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ती युद्धपोतहरू ‘विश्वस्तरीय’ भएको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार जहाजहरूले सुरक्षित रूपमा आफ्नो यात्रा पूरा गरेको छ ।
अमेरिकी सैन्य स्रोतहरूका अनुसार, सो क्षेत्रमा इरानी पक्षबाट मिसाइल, ड्रोन तथा साना जहाजमार्फत अमेरिकी नौसैनिक जहाजहरूलाई लक्षित गरिएको थियो । तर अमेरिकी सेनाले ती आक्रमणहरूलाई सफलतापूर्वक रोक्दै आवश्यक प्रतिकारात्मक कारबाही गरेको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकी जहाजहरूमा कुनै क्षति नभएको स्पष्ट पार्दै इरानी आक्रमणकारीहरूलाई भने उल्लेखनीय क्षति पुगेको दाबी गर्नुभएको छ । साथै, उहाँले भविष्यमा यस्ता गतिविधि दोहोरिए अझ कडा र प्रभावकारी प्रतिक्रिया दिइने चेतावनी पनि दिनुभएको छ । उहाँले इरानलाई छिटो कूटनीतिक सम्झौता गर्न आग्रह गर्दै, भविष्यमा थप कडा कदम चालिन सक्ने सङ्केत पनि गर्नुभएको छ ।
हर्मुज जलडमरूमध्य विश्वको अत्यन्त महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिन्छ । पछिल्लो समय यस क्षेत्रमा देखिएको तनावले अन्तर्राष्ट्रिय सुरक्षा तथा ऊर्जा आपूर्तिमा चिन्ता बढाएको छ ।
अमेरिकी अधिकारीहरूले आफ्नो सेनालाई सुरक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको जनाउँदै, परिस्थितिलाई थप जटिल बनाउन नचाहेको पनि स्पष्ट पारेका छन् ।
यसैबीच, यस क्षेत्रको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायले समेत नजिकबाट निगरानी गरिरहेको बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया