बैसाख २६, २०८३ शनिबार May 9, 2026

महानगरको बिचमा अस्थिपञ्जर भवन

आयोजनालाई अगाडि बढाउने, रोक्ने वा भत्काउने विषयमा महानगर अझै स्पष्ट हुन सकेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख २६ गते । सङ्घीय राजधानी काठमाडौँको मुटु मानिने पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ ‘भ्यु टावर’ समयमै सम्पन्न नहुँदा सहरको सौन्दर्य र व्यवस्थापनमा गम्भीर असर परेको छ । मुख्यतया बहुउद्देश्यीय व्यावसायिक कम्प्लेक्स तथा व्यवस्थित बस टर्मिनलको उद्देश्यले निर्माण सुरु गरिएको यस टावरको निर्माण स्थल लामो समयदेखि जस्तापाताले घेरिएको र अधुरो कङ्क्रिट संरचना अस्थिपञ्जर जस्तो देखिन्छ । यसका कारण सहरको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, पर्यटकीय केन्द्र रत्नपार्क क्षेत्रसहित महानगरको सौन्दर्य नै कुरूप बनाएको छ । भ्यु टावर भन्दै होचो भागमा गरिएको निर्माणलाई काठमाडौँ महानगरपालिकाले ‘मेगा प्रोजेक्ट’ नाम दिएको छ ।

पहिले खुला रहेको उक्त बसपार्क क्षेत्र अहिले घेराबन्दीमा पर्दा र नजिकैको रत्नपार्क (टुँडिखेल घेराबाहिर) क्षेत्रलाई जथाभाबी बसपार्कका रूपमा प्रयोग गर्नुपर्दा सहरको खुलापन र हरियालीमा समेत असर छ । पुरानो बसपार्क विस्थापित भई यात्रु र सवारीसाधनले बर्सौंदेखि सास्ती भोग्नु परिरहेको छ । २०७१ सालमा सम्झौता भई २०७२ कात्तिकमा शिलान्यास गरिएको यो आयोजना एक दशकभन्दा बढी समय बितिसक्दा पनि अझै पूर्ण भएको छैन । अहिलेसम्म ७० प्रतिशत काम सकिएको महानगरको दाबी छ । प्रस्तावित १९ तलाको यो भवन अहिले १३ औँ तलासम्म बनेर काम ठप्प रहेको यो संरचना अलपत्र छ ।

काठमाडौँ महानगरको स्वामित्वमा रहेको सो टावरको निर्माण एक दशकसम्म अलपत्र पर्दा पनि उक्त आयोजनालाई के कसरी अगाडि बढाउने विषयमा महानगर अझै स्पष्ट कार्यदिशा तय गर्न सकेको छैन । महानगर अलमलमै परेको देखिन्छ । यो आयोजनालाई अगाडि बढाउने, रोक्ने वा भत्काउने विषयमा महानगर अझै स्पष्ट हुन सकेको छैन ।

काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौँ भ्यु टावरको विषय छलफलकै क्रममा रहेको बताउँदै अहिलेसम्म यसबारे कुनै निर्णयमा पुग्न नसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार सो टावरको निर्माण अगाडि बढाउने वा भत्काउनेबारे छलफल भइरहेको छ । त्यसै गरी काठमाडौँ महानगरपालिकाको प्रशासन विभाग प्रमुख महेश काफ्लेले सो टावरबारे महानगर छलफलमा नै रहेको र अहिलेसम्म कुनै निर्णयमा पुग्न नसकिएको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मनान्धरले उक्त भवन निर्माणबारे अहिले केही पनि काम जारी नरहेको र महानगरले कुनै निर्णय गर्न नसकेको बताउँदै निर्माणको ठेक्का पाएको निर्माण कम्पनी नै सम्पर्कमा नरहेको जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कम्पनी विगत एक वर्षदेखि महानगरको सम्पर्कमा छैन । जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले सो टावर निर्माणको ठेक्का पाएको हो । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया