जेठ ७, २०८३ बिहिबार May 21, 2026

प्रतिनिधिसभा : हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

नागरिकको सुरक्षा, जडीबुटीको संरक्षण र घाइतेको सरकारले उपचार गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ जेठः सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सदन मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद जयपति रोकायाले सरकारले वार्ता र संवादको माध्यमबाट दुई जिल्लाबीचको सीमा विवादबारे तत्काल समाधान खोज्न माग गर्नुभयो ।

“हुम्ला र बाजुरा क्षेत्रको विवादलाई लिएर कर्णाली राजमार्ग नै अवरुद्ध भएको छ, राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बिरामी, परीक्षा दिने विद्यार्थी, अतिआवश्यक कामका लागि जानुपर्ने सबैलाई असर परेको छ”, उहाँले भन्नुभयो, “दुई जिल्लाबीचको सीमा विवाद सरकारले संवादबाट समाधान खोजी राजमार्ग तत्काल खुलाउनुपर्छ ।”

सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा रानीसिंह क्षेत्रको विवादका कारण धनगडी उपमहानगरपालिकाका प्रमुख गोपी हमालसहितको समूहप्रति दुव्र्यवहार भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले हिमाली गाउँपालिका साइपाल क्षेत्र जडीबुटी र वन्यजन्तुको अपार भण्डार भएकाले त्यस क्षेत्रमा वर्षौंदेखि तस्करहरुले कर छलेर अवैध तरिकाले जडीबुटी र वन्यजन्तुको बेचबिखन गरेको विषयलाई प्रहरीचौकी राखेर नियन्त्रण गर्न खोज्दा दुव्र्यवहार भएको बताउनुभयो । साथै, उहाँले त्यस क्षेत्रको नागरिकको सुरक्षा, जडीबुटीको संरक्षण र घाइतेको सरकारले उपचार गर्न माग गर्नुभयो ।

सांसद जनकराज गिरीले यही जेठ ४ गते हुम्ला र बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक महेश धामी र हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापालगायतलाई साङ्घातिक आक्रमण गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । यस क्षेत्रको सीमा विवाद तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद निस्कल राईले केही समयदेखि प्रतिपक्ष दलले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेको भए पनि सरकारले सदनको मर्यादा पालना नगरेको र परम्परा तोडने नाममा संसद्को मर्यादा पालना नगरेको आरोप लगाउनुभयो । सांसद अशोक चौधरीले जेनजी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाका दमकल र एम्बुलेन्स क्षति भएको जनाउँदै तत्काल नयाँ दमकल र एम्बुलेन्स व्यवस्था गर्न माग गर्नुभयो।

सांसद वासना थापाले दैलेखको गुराँस गाउँपालिका वडा ७ मा २८ वर्षीय गणेश थापाको हिजो १२ः०० बजे गोठालो जाने क्रममा करेन्ट लागेर सिकिस्त घाइते भएको र नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित यस्ता समस्याहरु धेरै भएकोप्रति सदनमार्फत प्राधिकरण ध्यानाकर्षण गराउनुभयो । सांसद शोभा खनालले गोरखामा कतिपय पालिकामा बत्तीको समस्या भएको स्थानीयवासीले दुःखेको गरेको हुनाले विद्युत् प्राधिकरण ध्यानाकर्षण गराउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया