काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा नराम्रो पराजय भोगेको परम्परागत दलमध्येको एक नेकपा एमालेले आगामी स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने भएको छ । जागरण अभियानमार्फत पार्टीको पुरानो साख फर्काउने एमालेको रणनीति छ । एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित मिसन जागरण अभियानको विस्तृत कार्ययोजना पठाएको हो । पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारीसहित पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार व्योहोर्नुका कारण, कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनु आदि विस्तृत रूपमा केलाइएको छ ।
मुख्यगरी २०७४ को निर्वाचनमा वामगठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्ताबेजमा उल्लेख छ । पार्टीले तयार गरेको मिसन जागरण अभियानको अवधारणामा भनिएको छ, ‘२०७४ को आमनिर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमशः वैकल्पिक शक्तितर्फ आकर्षित भएको हो ।’
पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आमजनतासम्म पुगेको एमालेको दाबी छ । पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यले पार्टीका नेताहरू विगतदेखिको राजनीतिक उतारचढाव, निर्वाचनपछिको पार्टीको राजनीतिको मूल्यांकन र भावी कार्यदिशा बारे स्पष्ट भएर उनीहरूले मातहतमा सही सन्देश प्रवाह गर्न सकुन् भन्ने लक्ष्य रहेको जानकारी दिँदै भन्नुभयो, ‘पार्टी कमजोर हुनाको कारण, देशी विदेशीको चलखेल, निर्वाचनमा एमालेविरुद्ध अल्गोरिदमको प्रयोग जस्ता विषय विस्तृत रूपमा व्याख्या गरिएको छ ।’
‘६ ज को नीति’
नेकपा एमालेले जनतासँगको सम्बन्ध सुधारका लागि ‘६ ज’ को नीति अघि सारेको छ । एमालेको दस्ताबेजमा भनिएको छ, ‘जनतामा जाऔं, जनताका कुरा सुनौं, जनप्रिय बनौं, जनसंगठन परिचालन गरौं, जबजलाई आत्मसात् गरौं र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्नसक्ने योग्य र सक्षम नेतृत्व तयार गरौं ।’ जारी ३१ पेजको अवधारणा पत्रमा पार्टीका नेताहरूको जिम्मेवारी तोकिएको छ ।
प्रमुख आचार्यका अनुसार सबै केन्द्रीय सदस्यलाई पालिकाको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यले नपुगेका ठाउँमा पार्टीका अन्य नेताहरूलाई समेत जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाएका नेताहरू स्थलगत रूपमा खटेका छन् कि छैनन् भनेर अनुगमनको पनि व्यवस्था गरिएको छ । केन्द्रबाट खटिने नेताहरूलाई होटलमा भन्दा जनताको घरमै बस्न आग्रह गरिएको आचार्यले जानकारी दिनुभएको छ । अभियान र जिम्मेवारी आगामी स्थानीय तह र प्रदेशको निर्वाचनसम्म कायम रहने एमालेले जनाएको छ ।
रास्वपाको उदय भूराजनीतिक चलखेलको परिणाम
एमालेले आमनिर्वाचनबाट नेपाली राजनीतिमा रास्वपाको उदय हुनुलाई ‘आकस्मिक र अस्वाभाविक’ घटनाको रूपमा व्याख्या गरेको छ । पार्टीको विशेष अभियान ‘मिसन पार्टी जागरण–२०८३’ को आौचित्य र कार्ययोजनाबारे जारी गरिएको आन्तरिक दस्ताबेजमा एमालेले रास्वपाको उदय नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम भएको जिकिर गरेको हो । दस्ताबेजमा भनिएको छ, ‘पपुलिजम, एनार्किजम र अवसरवादको जगमा आधारित वैकल्पिक शक्तिको उदयले नेपाली राजनीतिमा पारेको असरलाई रोक्न पार्टीले निर्वाचनलगत्तै विभिन्न अभियान सञ्चालन गरेको थियो ।’
सर्कुलरमा २०८२ सालको आमनिर्वाचनमा पार्टीले बेहोर्नु परेको परिणामलाई ‘अप्रत्याशित र अस्वाभाविक हार’ भनिएको छ । एमालेले दस्ताबेजमा लेखेको छ, ‘यतिबेला नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनको भविष्य र नेपाल राष्ट्रको सार्वभौमिकता नै संकटमा परेको अवस्था छ ।’
प्रदेशबाट थालियो सुझाव संकलन
एमालेले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव संकलन गरेको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कार्यदल गठन गरिएको हो । गत जेठ १० गते सम्पन्न एमाले सचिवालयको आठौं बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । जेठ २६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यदलको पहिलो बैठकले प्रदेशस्तरमा सुझाव संकलन गर्ने कार्यतालिका निर्धारण गरेको थियो ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया