काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट हालै अलग हुनुभएका पूर्वमहामन्त्री डा.धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं मिलेर नयाँ पार्टी घोषणाको तयारी गर्नुभएको छ । मुलुकमा स्थापित राजनीतिक दलहरूले जनआकांक्षा सम्बोधन गर्न नसकेको भन्दै नयाँ राजनीतिक शक्तिका रूपमा नयाँ पार्टी’ गठनको प्रक्रिया तीव्र पारिएको हो । राजसंस्थाको पुनःस्थापना र नेपाललाई वैदिक सनातन हिन्दु अधिराज्यका रूपमा फर्काउने मुख्य एजेण्डासहित दुवै समूहले संयुक्तरूपमा दल निर्माणको सांगठनिक ढाँचा तयार पारेका छन् ।
नयाँ पार्टी गठनको पूर्वसन्ध्यामा गृहकार्यलाई अगाडि बढाउन आइतबार काठमाडौंमा एक विशेष परिचयात्मक तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा प्रस्तावित पार्टीका लागि आवश्यक ३१ वटा विभिन्न विभाग गठन गरिएको घोषणा गरिएको छ । गठन गरिएका विभागहरूमा पार्टी एकता कार्यदल, कार्यसम्पादन कार्यदल र वार्ता कार्यदललगायतका महत्त्वपूर्ण संरचना रहेका छन् ।
जिम्मेवारी हस्तान्तरण र सांगठनिक संरचना
आइतबार आयोजित समारोहमा नेताद्वय डा.धवलशमशेर राणा र दुर्गा प्रसाईंले संयुक्तरूपमा नयाँ विभागका प्रमुखहरूलाई जिम्मेवारी पत्र हस्तान्तरण गर्नुभयो । नयाँ बन्ने दलको सांगठनिक जगलाई मजबुत बनाउन मुलुकका स्थापित र पुराना नेताहरूलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको आयोजक समितिले जनाएको छ । जिम्मेवारी पाउने र नयाँ अभियानमा जोडिने नेताहरूमा मुकुन्दश्याम गिरी, सगुनसुन्दर लावती, राजु आचार्य, धनश्वर शाही, खड्ग जिसी, ईश्वरीप्रसाद भट्टराई, केशवराज श्रेष्ठ, डा.महेन्द्रजंग शाह र दिलविकास राजभण्डारीलगायत हुनुहुन्छ । यी नेताहरूले नयाँ पार्टीको विचार, संगठन र आगामी रणनीति तय गर्न आ-आफ्नो विभागबाट काम सुरु गर्ने बताइएको छ । स्रोतका अनुसार आगामी असारको पहिलो साताभित्रै यो नयाँ पार्टीले औपचारिक र कानुनी रूपमा आकार लिइसक्ने गरी तयारी भइरहेको छ ।
राणाले नेतृत्व लिने
पार्टीको शीर्ष नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा दुवै पक्षबीच प्रारम्भिक समझदारी बनिसकेको छ । स्रोतका अनुसार डा.धवलशमशेर राणा नयाँ पार्टीको अध्यक्ष बन्ने तयारी भइरहेको छ भने दुर्गा प्रसाईंलाई मुख्य नेता र एजेण्डाको मुख्य अनुहारका रूपमा अघि सारिनेछ । कार्यक्रममा बोल्दै नेता डा.राणाले नेतृत्वको मोडेल र प्रसाईंसँगको सहकार्यबारे स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘राजसंस्था र हिन्दु राज्यको एजेण्डालाई रेस्क्यु गर्नुपर्छ र यो एजेण्डालाई रेस्क्यु गर्दा सबै राष्ट्रवादी, राजावादीहरूलाई एकै ठाउँमा ल्याउनुपर्छ भन्ने क्रममा सबभन्दा पहिला हाम्रो दृष्टि दुर्गा प्रसाईंजी माथि गएको हो । उहाँ राजा र हिन्दु राष्ट्रको एजेण्डा लिएर देशव्यापी रूपमा निमुखा जनताको नेता हुनुभएको छ, एउटा ब्राण्ड हुनुभएको छ । त्यसैले उहाँ हाम्रो ब्राण्ड हुनुहुनेछ, पार्टीको नेता हुनुहुनेछ र हामीले पार्टी चलाउने हो ।’ राणाले प्रसाईंलाई निमुखा र आवाजविहीन जनताको नेताका रूपमा चित्रण गर्दै दुई समूहबीचको सल्लाह र समन्वय निकै बलियो रहेको दाबी गर्नुभयो । नयाँ बन्ने पार्टीले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको मुद्दालाई मुलुकमा स्थापना गरेरै छाड्ने दृढ संकल्प लिएको उहाँको भनाइ थियो ।
राप्रपा र बालेन सरकारको आलोचना
कार्यक्रमका क्रममा नेता डा.धवलशमशेर राणाले आफूहरूले पुरानो दल राप्रपा छाड्नुपर्नाको कारणबारे पनि लामो प्रष्टीकरण दिनुभयो । गत जेठ २१ गते राप्रपाको महामन्त्री पद र पार्टी नै परित्याग गर्नुभएका राणाले वर्तमान राप्रपा नेतृत्वमाथि गम्भीर आरोप लगाउनुभयो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गर्ने एजेण्डालाई इमानदारीका साथ अघि नबढाएकाले आफूहरूले बाध्य भएर नयाँ पार्टी स्थापनाको बाटो रोज्नुपरेको उहाँको जिकिर थियो । उहाँले भन्नुभयो, ‘राप्रपाका नेताहरूले अहिले कार्यकर्तालाई अनावश्यक रूपमा कारबाहीको डण्डा चलाउने काम मात्र गरिरहेका छन् । एजेण्डाप्रति उहाँहरू इमानदार हुनुभएन ।’ राप्रपामा वैचारिक विचलन आएकै कारण सिंगो राष्ट्रवादी शक्तिलाई एकीकृत गर्न प्रसाईंको समूहसँग सहकार्य सम्भव भएको उहाँले बताउनुभयो ।
त्यसैगरी नेता राणाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारमाथि पनि आलोचना गर्नुभयो । बालेन साह नेतृत्वको टोलीले सरकार सञ्चालन गरेको सय दिन पनि नपुग्दै तमाम गल्तीहरू गर्दै गएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । वैकल्पिक भनिएका शक्तिहरू पनि जनताको भावना बुझ्न र सुशासन दिन असफल भइरहेको उहाँको तर्क थियो ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया