काठमाडौँ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा सुतिरहेकी एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ ।
इलाका प्रहरी कार्यालय स्वामीकार्तिकका अनुसार सोमबार बिहान करिब १:३० बजे स्वामीकार्तिक खापर गाउँपालिका–४ वाईकी ३६ वर्षीया ठुमरा बिष्ट आफ्नै घरमा सुतिरहेको अवस्थामा एक अपरिचित व्यक्तिले उनलाई भान्सा कोठामा बोलाएका थिए ।
त्यसक्रममा ती व्यक्तिले चक्कुले बिष्टको घाँटीको बायाँ भागमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरी टोलीले विष्टको उद्धार गरी कोल्टी आधारभूत अस्पताल पुर्याएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी, प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।
घाइते महिलाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया