काठमाण्डौं । आम जनता पार्टी (आजपा)ले शिक्षा, स्वास्थ्य तथा बिजुलीमा सरकारले लगाएको कर तत्काल हटाउन माग गरेको छ। आजपा कास्की जिल्ला कमिटीको पोखरामा बसेको बैठकले जनजीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत सेवामा कर लगाउनु संविधानको भावना विपरीत भएको निष्कर्ष निकाल्दै सरकारलाई उक्त निर्णय फिर्ता लिन आग्रह गरेको हो।
बैठकपछि जारी गरिएको धारणा अनुसार संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको अवस्थामा यस्ता अत्यावश्यक क्षेत्रमा कर लगाइनु उचित नहुने पार्टीको ठहर छ। आजपाले सरकारका पछिल्ला नीतिले सर्वसाधारणको जीवन सहज बनाउनुको सट्टा थप आर्थिक भार थपेको आरोप लगाएको छ।
आजपा कास्कीका जिल्ला अध्यक्ष मनु गुरुङले शिक्षा, स्वास्थ्य र बिजुली नागरिकको आधारभूत आवश्यकता भएकाले यस्ता क्षेत्रमा कर लगाउँदा प्रत्यक्ष असर आम जनतामाथि पर्ने बताइन्। उनले संविधानले प्रत्याभूत गरेका अधिकार कार्यान्वयन गर्नुपर्ने राज्य नै उल्टै करको भार थप्ने दिशामा अघि बढेको भन्दै आपत्ति जनाइन्।
‘संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेको छ। तर सरकारले संविधानको मर्मविपरीत यस्ता क्षेत्रमा कर लगाएर जनतालाई थप बोझ बोकाएको छ। जनजीवन सहज बनाउनुको सट्टा झन् कष्टकर बनाउने काम भइरहेको छ,’ अध्यक्ष गुरुङले भनिन्।
उनले बढ्दो महँगी, जीवनयापनको खर्च र आर्थिक दबाबका बीच शिक्षा, स्वास्थ्य तथा बिजुलीमा थपिएको करले मध्यम तथा निम्न आय भएका परिवारलाई सबैभन्दा बढी असर पार्ने बताइन्। सरकारले राजस्व संकलनका अन्य विकल्प खोज्नुपर्ने भन्दै जनताको आधारभूत अधिकारसँग जोडिएका क्षेत्रमा कर लगाउनु उपयुक्त नहुने उनको धारणा थियो।
बैठकमा आजपाका सहअध्यक्ष एवं संविधानसभा सदस्य तिलक थापामगरको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा गण्डकी प्रदेश इन्चार्ज सन्तोष शाह, सहइन्चार्ज भोजराज त्रिपाठी, उपाध्यक्ष हरि थापा तथा केन्द्रीय सदस्यहरू सूर्य गुरुङ, मीना गुरुङ, रुपा रञ्जित, पवित्रा मल्ललगायत नेताहरूको सहभागिता रहेको थियो।
बैठकमा समसामयिक राजनीतिक अवस्था, जनजीविकाका सवाल, संगठन विस्तार तथा आगामी कार्यक्रमबारे समेत छलफल भएको जनाइएको छ। सहभागी नेताहरूले जनतामाथि थप आर्थिक भार पर्ने नीतिहरू पुनरावलोकन गर्न सरकारसँग माग गर्दै शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रमा कर नीतिको पुनर्विचार आवश्यक रहेको बताएका थिए।
आजपाले शिक्षा, स्वास्थ्य तथा बिजुलीजस्ता आधारभूत सेवामा लगाइएको कर खारेज गर्न सरकारसँग पुनः आग्रह गर्दै जनताको हितविपरीत हुने निर्णय सच्याउनुपर्नेमा जोड दिएको छ। पार्टीले आगामी दिनमा पनि जनजीविकासँग सम्बन्धित मुद्दामा आवाज उठाइरहने जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया