काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबहादुर चन्द को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै १० जना केन्द्रीय सदस्यसहित १२ नेताले सामूहिक राजीनामा दिएका छन्।
राजीनामा दिने नेताहरूले पार्टी नेतृत्व कम्युनिस्ट आन्दोलनको रूपान्तरण, एकता र पुनर्गठनको कार्यदिशाबाट पछि हटेको आरोप लगाएका छन्। उनीहरूले पार्टीभित्र वैचारिक बहस र फरक मतलाई सम्मान गर्ने वातावरण कमजोर बन्दै गएको भन्दै गम्भीर असहमति व्यक्त गरेका छन्।
राजीनामा पत्रमा पार्टीभित्र सुधार र बहसको माग उठाउने नेताहरूमाथि कारबाही गरिएको उल्लेख गर्दै नेतृत्वले असहमत आवाजलाई निषेध गर्ने प्रवृत्ति अपनाएको आरोप लगाइएको छ। उनीहरूले संगठनभित्र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको दाबी गरेका छन्।
राजीनामा दिने समूहले केन्द्रीय सचिवालय सदस्यहरू उमा भुजेल र चन्द्रबहादुर खड्का लाई पार्टीबाट निष्कासन गरिएको घटनालाई भर्त्सनायोग्य भन्दै त्यसप्रति आपत्ति जनाएको छ।
उनीहरूको भनाइमा पार्टीलाई एकताबद्ध र सशक्त बनाउनेभन्दा फरक मत राख्ने नेताहरूलाई किनारा लगाउने काम भइरहेको छ, जसले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने खतरा बढाएको छ।


युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया