काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक सूची सार्वजनिक गरिएको जानकारी दिएका हुन्।
रास्वपाका अनुसार महाधिवेशनका लागि कुल ४ हजार २११ प्रतिनिधि तय गरिएको छ। देशभरका विभिन्न क्षेत्र, प्रदेश, प्रवास, समायोजन तथा मनोनयनबाट प्रतिनिधि चयन गरिएको जनाइएको छ।
प्रारम्भिक विवरणअनुसार प्रदेशगत रूपमा बागमतीबाट ७४४, लुम्बिनीबाट ६३६, सुदूरपश्चिमबाट ५५०, गण्डकीबाट ४७७, कोशीबाट ३९३ र कर्णालीबाट ३४३ प्रतिनिधि रहेका छन्।
पार्टीले महाधिवेशनलाई व्यवस्थित बनाउन प्रतिनिधि छनोट प्रक्रिया पूरा गरी प्रारम्भिक नामावली सार्वजनिक गरेको जनाएको छ। सार्वजनिक सूचीमाथि आवश्यक दाबी–विरोधपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना हुँदैछ, जहाँ नयाँ नेतृत्व चयनसहित पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक योजनाबारे छलफल हुने बताइएको छ।


प्रतिक्रिया