असार १०, २०८३ बुधबार June 24, 2026

धौलागिरिका लायन्स क्लबका नवनिर्वाचित नेतृत्वलाई बागलुङमा प्रशिक्षण : ‘लीडिङ विथ पर्पज’ को सङ्कल्प

क्लब पदाधिकारी अभिमुखीकरण कार्यक्रम बागलुङमा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाग्लुङ, असार ९ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत धौलागिरि क्षेत्रका नवचयनित क्लब पदाधिकारीहरूको नेतृत्व र कार्यक्षमता सुदृढीकरणका लागि मंगलबार बागलुङमा एक दिने ‘क्लब अफिसर्स स्कुलिङ प्रोग्राम’ सम्पन्न भएको छ। होटल पीस प्यालेसमा आयोजित उक्त विशेष प्रशिक्षण कार्यक्रममा धौलागिरि क्षेत्रका २२ वटा लायन्स क्लबका नवनिर्वाचित अध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदाधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। ‘Leading With Purpose’ (उद्देश्यसहितको नेतृत्व) भन्ने मुख्य नाराका साथ सुरु भएको लायन्स वर्ष २०२६–२०२७ को कार्यकाललाई प्रभावकारी र व्यवस्थित बनाउन यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका बारेमा जानकारी दिँदै एडिस्नल क्याबिनेट सेक्रेटरी मछिन्द्र आचार्यले नयाँ कार्यकालका पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारी र कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार यस स्कुलिङ प्रोग्रामले क्लबहरूको कार्यसम्पादनलाई थप चुस्त र संस्थागत बनाउनुका साथै आगामी दिनमा समुदाय तहमा लायन्सका सेवामूलक गतिविधिहरूलाई अझ सशक्त रूपमा अगाडि बढाउन महत्त्वपूर्ण सहयोग पुग्नेछ। प्रशिक्षणका क्रममा सहभागीहरूलाई लायन्सको संगठनात्मक संरचना, नेतृत्व विकास, सेवा कार्यक्रम सञ्चालन, सदस्यता विस्तार तथा क्लब व्यवस्थापन सम्बन्धी विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालका गभर्नर रमेश अधिकारीले नयाँ नेतृत्वलाई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन यस स्कुलिङले मार्गनिर्देश गर्ने उल्लेख गर्नुभयो। त्यस्तै, पूर्व अन्तराष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले यस प्रकारको प्रशिक्षणले समुदायमा लायन्सको उपस्थितिलाई अझ अर्थपूर्ण बनाउने विश्वास व्यक्त गर्नुभयो। विश्वव्यापी रूपमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विपद् व्यवस्थापन जस्ता मानवीय सेवाका क्षेत्रमा क्रियाशील लायन्सले धौलागिरि क्षेत्रमा पनि आफ्नो सक्रियता बढाउँदै लगेको सन्दर्भमा यो कार्यक्रम विशेष बनेको थियो।

May be an image of lighting and crowdउक्त गरिमामय कार्यक्रममा डिष्ट्रिक्टका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर विष्णुहरि फुयाल, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर हसन कुमार गोपाली र डिस्ट्रिक्ट चिफ एज्क्युटिभ डाइरेक्टर काजीमान गुरुङले आ-आफ्नो धारणा राख्दै नवनिर्वाचित पदाधिकारी टोलीलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो। डिष्ट्रिक्ट सेक्रेटेरी गणेश जीसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा डिष्ट्रिक्टका क्याबिनेट पदाधिकारी, गण्डकी तथा  धौलागिरि क्षेत्रका लायन लिडरहरु सहित क्लब प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

May be an image of one or more people and people studyingआगामी जुलाई १ गतेबाट मात्रै औपचारिक कार्यकाल सुरु हुने लायन्सको परम्परागत  रहेपनि डिष्ट्रिक्ट ३२५ के नेपालले आफ्नो अद्भुत दूरदर्शिता र अनवरत सक्रियता प्रदर्शन गर्दै नवनिर्वाचित क्लब अफिसर्सहरूका लागि यसपटक तेस्रो ऐतिहासिक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो । यसअघि बाग्मती र गण्डकी क्षेत्रका क्लब पदाधिकारीहरूलाई उच्चस्तरीय नेतृत्व प्रशिक्षण दिएर सामाजिक सेवाको मैदानमा अब्बल रूपमा तयार पारिसकेको यस डिष्ट्रिक्टले धौलागिरि क्षेत्रका नेतृत्वलाई समेत दीक्षित गर्दै कुशल व्यवस्थापन, अभूतपूर्व सङ्गठनात्मक सुदृढीकरण र समयसीमा भन्दा अगावै ‘उदेश्य सहितको नेतृत्व’ को सङ्कल्प पूरा गर्ने सवालमा नेपालभरिकै लायनवादमा एक अग्रणी, गतिशील र गौरवशाली डिष्ट्रिक्टको रूपमा आफ्नो सर्वोत्कृष्ट वर्चस्व स्थापित गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया