मंग्सिर २, २०८३ बुधबार November 18, 2026

हर्मुज नखुलेको इरानको दाबी

जलघाँटी अझै अवरुद्ध, इरानले राखेका सर्त स्वीकार नभएसम्म त्यसलाई पुनः नखोलिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, २८ साउन (रासस/एएनआई) : इरानले हर्मुजको जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार गर्दै रणनीतिक जलमार्ग अझै अवरुद्ध रहेको र तेहरानले राखेका सर्त पूरा नभएसम्म पूर्ण रूपमा नखोलिने जनाएको छ । यससँगै महत्त्वपूर्ण समुद्री मार्गलाई लिएर अमेरिका र इरानबीचको दाबी–प्रतिदाबी थप चर्किएको छ ।

पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए) ले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी अधिकारीहरूले हर्मुजको जलघाँटी अवरुद्ध नरहेको भन्दै गरेका दाबीले वास्तविक अवस्था परिवर्तन नगर्ने बताएको छ । संस्थाका अनुसार जलघाँटी अझै अवरुद्ध छ र इरानले राखेका सर्त स्वीकार नभएसम्म त्यसलाई पुनः खोलिने छैन ।

इरानको यस्तो प्रतिक्रिया राष्ट्रपति ट्रम्पले हर्मुजको जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको र त्यसलाई कायम राख्ने बताउनुभएको केही घण्टापछि आएको हो । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा अमेरिकी नौसेनाको उपस्थितिलाई ‘स्टिलको पर्खाल’ को संज्ञा दिँदै इरानले त्यसविरुद्ध केही गर्न नसक्ने दाबी गर्नुभएको थियो ।

ट्रम्पले आफ्नो सन्देशमा अमेरिकी नौसेनाले हर्मुज क्षेत्रमा नाकाबन्दी कायम राखेको उल्लेख गर्दै इरानको सैन्य पूर्वाधारमा गम्भीर क्षति पु¥याइएको दाबी गर्नुभएको थियो । उहाँले इरानको आर्थिक अवस्थामाथि समेत टिप्पणी गर्दै उच्च मुद्रास्फीतिको सामना गरिरहेको बताउनुभएको थियो ।

हर्मुजको जलघाँटी विश्वव्यापी ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग हो । विश्वमा हुने पेट्रोलियम व्यापारको करिब २० प्रतिशत यही मार्ग हुँदै हुने भएकाले यहाँ हुने कुनै पनि लामो अवरोध वा तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य, ढुवानी र आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर पार्न सक्छ ।

जलघाँटीलाई लिएर पछिल्लो तनाव इरानी, इजरायली र अमेरिकी सेनाबीच हप्तौँदेखि जारी सैन्य आदानप्रदानपछि बढेको हो । तेहरानले यसअघि पनि आफूविरुद्ध बाह्य दबाब र सैन्य कारबाही बढेमा समुद्री यातायात सीमित वा अवरुद्ध गर्न सक्ने चेतावनी दिँदै आएको थियो । यसले तनावलाई हर्मुजबाट बाहिर फराकिलो क्षेत्रीय द्वन्द्वमा परिणत हुन सक्ने आशङ्का बढाएको छ ।

अमेरिकाले यसको प्रतिक्रियामा खाडी क्षेत्रमा आफ्नो नौसैनिक उपस्थिति उल्लेख्य रूपमा बढाएको छ । वासिङ्टनले अन्तर्राष्ट्रिय समुद्री आवागमनको स्वतन्त्रता सुनिश्चित गर्नु आफ्नो प्रमुख सुरक्षा प्राथमिकता भएको बताउँदै आएको छ ।

तर सैन्य तनावसँगै अमेरिका र इरानबीच कूटनीतिक सम्पर्कको प्रयाससमेत जारी रहेको जनाइएको छ । दुवै देशका प्रतिनिधिहरूले हर्मुजको सङ्कट कम गर्ने तथा नियमित व्यापारिक समुद्री यातायात पुनः सञ्चालन गर्ने सम्भावित सर्तबारे अप्रत्यक्ष रूपमा छलफल गरिरहेका छन् ।

यसैबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नवनियुक्त प्रमुख मोहसेन रेजाईले पनि तेहरानले आफ्ना सबै सर्त पूरा नभएसम्म हर्मुजको जलघाँटी पूर्ण रूपमा नखोल्ने चेतावनी दिनुभएको छ ।

रेजाईले एक्समा प्रकाशित सन्देशमार्फत इरानको माग स्पष्ट गर्दै अमेरिका–इरान युद्ध र नाकाबन्दी अन्त्य हुनुपर्ने, इरानका रोक्का गरिएका सम्पत्ति फुकुवा गरिनुपर्ने तथा लेबनान र गाजामा क्षेत्रीय युद्धविराम हुनुपर्ने बताउनुभयो । उहाँले ती सबै सर्त पूरा नभएसम्म जलघाँटी बन्द रहने दाबी गर्नुभएको हो ।

हर्मुजको जलघाँटी यसअघि पनि विभिन्न सैन्य तथा राजनीतिक तनावका कारण विश्वको सबैभन्दा संवेदनशील भूराजनीतिक समुद्री मार्गमध्ये एक बन्दै आएको छ । यहाँ हुने सैन्य तनावले विगतमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढाउनुका साथै विश्वव्यापी आपूर्ति प्रणालीमा चिन्ता उत्पन्न गराउँदै आएको छ ।

पछिल्लो तनावपछि जलक्षेत्रमा नौसैनिक गस्ती बढाइएको छ भने केही व्यापारिक जहाजले आफ्नो मार्ग र सुरक्षा व्यवस्थामा समेत परिवर्तन गरेका छन् । यसैबीच अन्तर्राष्ट्रिय समुदायले सम्बन्धित पक्षलाई संयम अपनाउँदै वार्तामार्फत तनाव कम गर्न आग्रह गरिरहेको छ ।

हाल महत्त्वपूर्ण समुद्री मार्गमा व्यापारिक ढुवानी कडा सुरक्षा निगरानीबीच सञ्चालनमा रहेको बताइएको छ । यद्यपि जलघाँटी आसपासको अवस्था अत्यन्त अस्थिर रहेकाले समुद्री आवागमन कहिलेसम्म नियमित रूपमा सञ्चालन हुन सक्छ भन्नेमा अनिश्चितता कायम छ । अमेरिका र इरानबीच जारी अप्रत्यक्ष वार्ताले तनाव घटाएर समुद्री मार्गलाई नियमित रूपमा खुला राख्ने वातावरण बनाउन सक्छ कि सक्दैन भन्ने विषय अहिले कूटनीतिक चासोको केन्द्रमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार