काठमाडौं । नेपाली राजनीतिमा फेरि एउटा नयाँ तरंग पैदा भएको छ । लामो समयदेखि फरक-फरक राजनीतिक बाटोमा हिँडिरहेका प्रमुख कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू अब एउटै मञ्चमा उभिने भएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भोगेको अनपेक्षित हारले दबाबमा परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी राजनीतिक यात्रा सँगै तय गर्ने मनस्थितिमा पुग्नुभएको छ । ‘जेन-जी’ आन्दोलनपछि पहिलो पटक यी दुई शीर्ष नेताहरू आज (आइतबार) काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा एउटै मञ्चमा देखिने तयारी भइरहेको छ ।
पछिल्लो समय एमाले र नेकपाबीच संवाद निकै बाक्लो बनेको छ । शुक्रबार मात्रै विराटनगरमा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा संयोजक दाहालले मुलुकमा कम्युनिष्ट शक्तिहरूबीच पुनः एकता र सहकार्यको प्रक्रिया अघि बढिरहेको खुलाउनुभएको थियो । सदन, सडक र स्थानीय तहमा एमालेसँग सहकार्य हुने दाबी गर्दै उहाँले आफ्नो तर्फबाट अन्तिम क्रमभंग हुने संकेतसमेत गर्नुभएको छ । दाहाल श्रीलंका र सहसंयोजक माधवकुमार नेपाल रुस भ्रमणमा निस्कनुअघि वामपन्थी सहकार्यको यो बहसले नयाँ उचाइ लिएको हो । वामपन्थी एकताको यस बहसमा नेकपा नेता वामदेव गौतमले पनि बलियो साथ दिनुभएको छ । असार ५ गते आयोजित एक कार्यक्रममा नेता गौतमले आगामी निर्वाचन कम्युनिष्ट पार्टीकै नेतृत्वमा हुने र सबैलाई मिलाएर एउटै पार्टी बनाइने दाबी गर्नुभएको थियो ।
उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि विगतको इगो बिर्सेर पूर्वाग्रहबिना नेकपालगायत अन्य कम्युनिष्ट दलहरूसँग सहकार्य गर्न तयार देखिनुभएको छ । गतसाता बसेको एमाले केन्द्रीय पदाधिकारी बैठकमा अध्यक्ष ओलीले सरकार एमालेविरुद्ध प्रतिशोधपूर्ण रूपमा उत्रिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको थियो । पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका नाममा पक्राउ गरिएको घटना, सुकुम्बासी विस्थापन र ट्रेड युनियन खारेजी जस्ता सरकारका निर्णयविरुद्ध लड्न वाम एकता अनिवार्य रहेको उहाँको निष्कर्ष छ ।
हाल प्रतिनिधिसभामा एमालेको २५ र नेकपाको १७ सिट मात्र छ । निर्वाचन परिणामले कमजोर बनाइदिएपछि दुवै दलका नेताहरू संसद् र सडकबाट सरकारलाई दबाब दिन एकठाउँमा उभिन बाध्य भएका हुन् । एमालेका दोस्रो तहका नेताहरू महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र उपमहासचिव लेखराज भट्ट तथा नेकपाका नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुनबीच पनि प्रदेश सरकारमा सँगै जाने र राष्ट्रियताका मुद्दामा साझा धारणा बनाउने विषयमा घनीभूत छलफल भइरहेको छ । राष्ट्रियता, सरकारका गलत कामविरुद्ध संसद्मा आवाज उठाउने र संविधानलाई कमजोर बनाउने गतिविधिविरुद्ध एमाले र नेकपा एकठाउँमा उभिने उपमहासचिव भट्टले प्रष्ट पार्नुभएको छ ।
मदन जन्मजयन्ती मिलनको नयाँ बहाना
कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेला तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्ती नेताहरूलाई नजिक ल्याउने महत्त्वपूर्ण कडी बनेको छ । मदन भण्डारी फाउन्डेसनको आयोजनामा आज राष्ट्रिय सभागृहमा हुने नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोहमा वामपन्थी नेताहरूको जमघट हुँदै छ । २०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको देहान्त भएपछि उहाँको वैचारिक मार्गनिर्देशनलाई लिएर विभिन्न कार्यक्रम हुँदै आएका छन् ।
आज हुने उक्त कार्यक्रममा एमाले अध्यक्ष ओली र नेकपा संयोजक दाहाल मात्र नभई नेकपाका सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यस विचार गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुने छ । उहाँ फेरि सक्रिय राजनीतिमा फर्कने कसरतमा रहेको बेला यो मञ्चलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनसँगै नेपालको कम्युनिष्ट आन्दोलनलाई नराम्रो धक्का लागेको थियो । उक्त आन्दोलनपछि पूर्व– प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले घोषणा गरेको निर्वाचनमा जाने विषयमा ओली र दाहालबीच गम्भीर मतभेद थियो । दाहालले निर्वाचनलाई खुलेर समर्थन गर्नुभएको थियो भने ओलीले जेन-जी आन्दोलनलाई गम्भीर षड्यन्त्रको संज्ञा दिँदै निर्वाचनप्रति असन्तुष्टि जनाउनुभएको थियो । त्यही मतभेदका कारण लामो समयदेखि टाढिएका यी दुई नेता निर्वाचनको धक्कापछि भने संविधानका मूल मर्ममै टेकेर संविधान संशोधनको पक्षमा एकै ठाउँमा उभिन सहमत हुनुभएको छ ।
कम्युनिष्ट आन्दोलनको टुटफुटको शृंखला
नेपालको कम्युनिष्ट आन्दोलन टुट, फुट र विभाजनको शृंखलाबाट गुज्रिँदै आएको छ । २०७४ सालमा ओली र दाहालबीचको सहकार्यले झण्डै दुईतिहाइ बहुमत ल्याएको थियो । २०७५ जेठ ३ गते दुई पार्टी मिलेर बनेको बलियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक सत्ता संघर्ष र नेतृत्वको टकरावका कारण पूरा कार्यकाल टिक्न सकेन । पार्टी सचिवालयमा ओली अल्पमतमा परेपछि उहाँले संसद् विघटन गर्नुभएको थियो । त्यसपछि कांग्रेस, माओवादी र माधव नेपाल समूहबीच बनेको मोर्चा र २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलासँगै छिन्नभिन्न भएको वाम जनमत अझै तंग्रिन सकेको छैन ।
२०७९ को निर्वाचनमा दोस्रो र तेस्रो शक्तिको रूपमा रहेका यी दलहरू २०८२ फागुनको निर्वाचनमा आइपुग्दा निकै कमजोर अवस्थामा खुम्चिएका छन् । नेकपाले चुनाव हार्नुको मुख्य कारण वामपन्थी मत विभाजन हुनुलाई मानेको छ । चैतमा भएको संयोजक समितिको बैठकमा प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा प्रतिवेदनले एक्लाएक्लै चुनाव लडेका नौवटा कम्युनिष्ट पार्टीले प्राप्त गरेको ४० लाखभन्दा बढी समानुपातिक मत छरिएको र वाम शक्ति एकताबद्ध भएको भए अझै राम्रो परिणाम आउन सक्ने निष्कर्ष निकालेको थियो ।
गत कात्तिकमा माओवादी र एकीकृत समाजवादीबीच एकता भएर नेकपा बने पनि संगठन समायोजनको काम अझै पूरा भएको छैन । संगठन समायोजन सकिएलगत्तै एमालेसँगको सहकार्यलाई औपचारिक रूप दिने नेकपाको तयारी छ । स्थानीय तहका कार्यकर्ताहरूबाट समेत वामपन्थी दलहरू मिल्नुपर्ने चर्को दबाब आएपछि शीर्ष नेताहरू विगतको इगो त्यागेर आत्मसमीक्षासहित अघि बढ्न बाध्य भएका हुन् । नेकपाका नेता देवेन्द्र पौडेलका अनुसार अब पनि वामपन्थी पार्टीहरू नमिले अरू कुनै विकल्प छैन र तल्लो तहका कार्यकर्तामा मिल्नैपर्ने एकमत देखिन्छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार जब-जब राजनीतिक संकट निम्तिन्छ वा आफूलाई अप्ठ्यारो पर्छ, तब ओली र दाहाल नजिकिने गरेका छन् । शक्ति आर्जन गरेपछि अलग हुने इतिहास रहे पनि अहिले निर्वाचनपछि आएको संकटले उहाँहरूलाई फेरि नजिक ल्याएको हो । आगामी वर्ष हुने स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै दुवै दलले सहकार्यको बाटो रोजेका छन् ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया