असार १९, २०८३ शुक्रबार July 3, 2026

सिंहदरबारमा नयाँ निजामती ऐनको त्रास

सरकारले संघीय निजामती सेवा ऐन जारी गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताए पनि यो अझै टुंगोमा पुगेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा यतिबेला नयाँ किसिमको तरंग पैदा भएको छ । देश चलाउने मुख्य खम्बा मानिने अनुभवी कर्मचारीहरू आफ्नो सेवा अवधि बाँकी छँदै धमाधम जागिर छाडेर बाहिरिन थालेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएयता मात्रै निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको संख्या ह्वात्तै बढेको छ । पछिल्लो तीन महिनामा मात्रै ५८४ जना कर्मचारीले राजीनामा दिइसकेका छन् ।

राष्ट्रिय किताबखानाको तथ्यांक हेर्ने हो भने यो अवस्था निकै चिन्ताजनक देखिन्छ । राजीनामा दिनेहरूमा ६ जना सहसचिव र १७ जना उपसचिव जस्ता नीति निर्माण तहका उच्च कर्मचारीहरू समेत छन् । असार महिना लागेपछि त राजीनामा दिनेको लर्को नै लागेको छ । असार १ देखि १५ गतेसम्म मात्रै १३५ जना कर्मचारीको राजीनामा स्वीकृत भइसकेको छ । तथ्यांकलाई अझ गहिरिएर हेर्दा यस आधा महिनामा अनिवार्य अवकाश र राजीनामा गरी कुल १९१ जना कर्मचारी सेवाबाट बाहिरिएका छन् । जसमध्ये १०९ जनाले उमेरहदका कारण अनिवार्य अवकाश पाएका हुन् भने झण्डै ४३ प्रतिशत अर्थात् ८२ जनाले स्वेच्छाले जागिर छाडेका हुन् ।

राष्ट्रिय किताबखानाका निर्देशक सुदन ख्वाखली श्रेष्ठका अनुसार, असार महिनामा राजीनामा दिने क्रम अझ तीव्र भएको छ । उहाँका अनुसार, किताबखानामा राजीनामा स्वीकृत भएर आएका अभिलेख मात्र रहने भएकाले व्यक्तिगत कारण ठ्याक्कै यही हो भन्न नसकिए पनि समग्र अवस्था भने स्पष्ट देखिन्छ । विगतमा वर्षभरिमा करिब सात सयदेखि नौ सय कर्मचारीले राजीनामा दिने गरेका थिए । गत आर्थिक वर्षमा ७९४ जनाले सेवा छाडेका थिए । तर, अहिले सरकार गठन भएको तीन महिनामै करिब ६ सयले सेवा छाड्नु सामान्य कुरा पक्कै होइन ।

पेन्सन घट्ने र ३० वर्षे सेवा अवधिको त्रास

यसरी कर्मचारीहरूले हतारहतार जागिर छाड्नुको सबैभन्दा ठूलो कारण सरकारले ल्याउन लागेको नयाँ निजामती सेवा ऐन नै हो । संघीय निजामती सेवा विधेयक, २०८३ को प्रारम्भिक मस्यौदामा राखिएका केही नयाँ नियमले कर्मचारीहरूमा ठूलो त्रास पैदा गरेको छ । विशेष गरी, ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेरमध्ये जुन पहिले पूरा हुन्छ, त्यसकै आधारमा अनिवार्य अवकाश दिने प्रस्तावले धेरैलाई झस्काएको छ । अहिलेको नियममा ५८ वर्ष उमेर पुगेपछि मात्र अनिवार्य अवकाश हुने व्यवस्था छ । यदि नयाँ नियम लागू भयो भने ३० वर्ष सेवा गरिसकेका करिब १० हजार कर्मचारीको भविष्य एकाएक अन्योलमा पर्नेछ ।

यसबाहेक, पेन्सन कटौती हुने डरले पनि कर्मचारीहरूलाई राजीनामा दिन बाध्य बनाएको छ । विद्यमान निजामती सेवा ऐनको दफा ३७ अनुसार, जम्मा सेवा गरेको वर्षलाई अन्तिम महिनाको तलबले गुणा गरी ५० ले भाग गर्दा आउने रकम नै मासिक पेन्सन हो । अहिलेको नियमअनुसार कुनै पनि कर्मचारीले अवकाश लिँदा ३० वर्षभन्दा बढी काम गरेको भए पनि त्यो सबै अवधि पेन्सनमा जोडिन्छ । तर, नयाँ ऐन लागू भएमा पेन्सन गणना गर्दा अधिकतम ३० वर्षको सेवा अवधि मात्र गणना हुने चर्चा छ ।

त्यति मात्र होइन, हाल ५८ वर्षमा अवकाश पाउँदा पेन्सनका लागि थपिने दुई वर्षको सुविधा पनि हटाउने प्रस्ताव गरिएको छ । साथै, अवकाश लिँदा एक तह माथिको पदअनुसार पेन्सन पाउने व्यवस्था पनि हटाइने कुरा छ । यो सुविधा हट्दा कर्मचारीको मासिक पेन्सन रकम दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म घट्ने निश्चित जस्तै छ । राजीनामा दिएका एक उपसचिवले बताएअनुसार, नयाँ व्यवस्था लागू भएमा करिब १४ प्रतिशतसम्म आर्थिक नोक्सानी हुनसक्छ । खाइपाई आएको सेवा र सुविधा गुम्ने डरले नै धेरैले उमेर र सेवा अवधि बाँकी छँदै सुरक्षित बाटो रोजेका हुन् । अहिलेकै अवस्थामा ३० वर्षभन्दा बढी सेवा गरेका पाँच हजार २५८ जना र ५५ वर्ष उमेर काटेका सात हजार २२४ जना कर्मचारी छन् । नयाँ नियमले उहाँहरू सबैलाई प्रत्यक्ष असर गर्नेछ ।

काम गर्ने वातावरण नभएको गुनासो

सेवासुविधा घट्ने डर मात्र होइन, काम गर्ने सहज वातावरण नहुनुलाई पनि राजीनामाको अर्को मुख्य कारण मानिएको छ । वर्तमान सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेको छ । कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्ने, सातामा दुई दिन बिदा दिने र महिनामा दुई पटक तलब भुक्तानी गर्ने जस्ता राम्रा सुविधाहरू पनि ल्याएको छ । तर, भविष्यको सेवा–सुविधासम्बन्धी अन्योलका कारण यी राम्रा कामले पनि कर्मचारीलाई रोक्न सकेको छैन । कतिपय कर्मचारीको गुनासो छ कि वर्तमान सरकारबाट खुलेर काम गर्ने वातावरण मिलेको छैन । विशेषगरी, प्रधानमन्त्री र मन्त्रीका सचिवालयहरू सिंहदरबारमा हाबी हुँदा राजनीतिक दबाब बढेको महसुस कर्मचारीहरूले गरेका छन् । राजनीतिक नेतृत्वको चाहनामा कतिपय अप्ठ्यारा फाइलहरू अगाडि बढाउनुपर्ने र पछि गएर आफैँ भ्रष्टाचार वा अख्तियारको मुद्दामा तानिने डरले धेरैलाई सताएको छ । एउटा सरकारको पालामा दबाबमा परेर गरेको निर्णय अर्को सरकार आउँदा अनुसन्धानको विषय बन्ने गरेका थुप्रै उदाहरण छन् । त्यसैले, दबाबमा परेर गलत फाइलमा हस्ताक्षर गर्नुभन्दा बरु जागिर नै छाड्नु बेस भन्ने मानसिकता हाबी भएको एक बहालवाला सचिवले बताउनुभयो । उहाँका अनुसार, अहिले कर्मचारीहरूको अभिभावकत्व नै गुमेको जस्तो अवस्था छ ।

यसरी राज्यले ठूलो लगानी गरेका अनुभवी जनशक्तिले एकैपटक सेवा छाड्दा देशलाई ठूलो नोक्सानी भइरहेको छ । राजीनामा दिनेहरूमा वन तथा वातावरण मन्त्रालयका सहसचिव राजु सापकोटा, सडक विभागका उपमहानिर्देशक प्रभातकुमार झा, वन विभागका उपमहानिर्देशक उद्धव घिमिरे, तत्कालीन खानेपानी मन्त्रालयका सहसचिव बालमुकुन्द श्रेष्ठ र सहसचिव उज्ज्वल प्रजापति जस्ता महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका प्राविधिक तथा अनुभवी अधिकारीहरू हुनुहुन्छ । यस्तै, शिक्षा मन्त्रालयका उपसचिवहरू भोजबहादुर एडी, श्रीधर पन्थी, शोभाकर पाण्डे र लालप्रसाद शर्मा भुसालले पनि सेवाबाट राजीनामा दिनुभएको छ । यसका साथै कानुन सेवाका एक सहसचिवले पनि राजीनामा दिनुभएको छ । यसरी दक्ष जनशक्ति बाहिरिँदा मन्त्रालयहरूको दैनिक काम कारबाही र जनताले पाउने सेवामा गम्भीर असर पर्न थालेको छ ।

पूर्वसचिव विनोद प्रकाश सिंहका अनुसार, यसरी कर्मचारी पलायन हुनुको पछाडि केही गम्भीर प्रणालीगत समस्याहरू जिम्मेवार छन् । उहाँले मुख्य पाँचवटा कारण औँल्याउनुभएको छ । पहिलो, सरकार आएपछि पेन्सन र सेवा सुविधा कटौती हुने चिन्ता । दोस्रो, मन्त्री र सचिवालयको बढ्दो राजनीतिक हस्तक्षेपले गर्दा कर्मचारीले सम्मान नपाएको महसुस गर्नु । तेस्रो, प्राविधिक कर्मचारीहरूका लागि निजी क्षेत्र वा विदेशमा राम्रो अवसर हुनु । चौथो, कार्यालयमा अनुशासनलाई कर्तव्यभन्दा पनि कारबाही र दण्डको डरका रूपमा बुझ्ने गलत कार्यसंस्कृति हाबी हुनु । र पाँचौँ, भ्रष्टाचारमा मुछिने डरले साना निर्णय पनि मन्त्रिपरिषद्मै पठाउने प्रवृत्ति बढ्नु । यस्तो डरले कर्मचारीको नयाँ काम गर्ने सिर्जनशीलता नै मारिदिएको उहाँको भनाइ छ ।

सरकारले संघीय निजामती सेवा ऐन जारी गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताए पनि यो अझै टुंगोमा पुगेको छैन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको विधेयकको मस्यौदा अहिले कानुन मन्त्रालयमा छलफलको क्रममा छ । मन्त्रीस्तरबाट टुंगिएपछि मात्र यसलाई मन्त्रिपरिषद् हुँदै संसद्मा लगिनेछ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया