काठमाडौं । पार्टीको आसन्न १५औँ महाधिवेशनको संघारमा नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता विवाद झन् पेचिलो बन्दै गएको छ । कांग्रेस पार्टीको १५औँ महाधिवेशनको संघारमा छ । महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गरिसकेको कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरण अभियान तीव्र पारेको छ । तर, महाधिवेशनको संघारमा क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया झन् पेचिलो बन्दै गएको छ । महाधिवेशन मिति नजिकिँदै गर्दा सदस्यता अद्यावधिकको विवाद, संस्थापनइतर समूहको असहमति र पार्टीभित्रको अविश्वासले महाधिवेशन तयारीमा चुनौती थपेको छ ।
पछिल्ला दिनमा शीर्ष नेतृत्वबीच संवादको प्रयासले केही गति लिए पनि आन्तरिक विवाद समाधान हुन सकेको छैन । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट आगामी १६–१९ असोजमा १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्नेगरी कार्यतालिका पारित गर्दै काम अघि बढाएको थियो । तर, कार्यतालिका अनुसार कांग्रेसको सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणको काम सम्पन्न हुन सकेको छैन । वैशाख मसान्तभित्र सदस्यता अद्यावधिकको काम पूरा गरिसक्ने कार्यतालिका निर्धारण गरेको थियो । संस्थापनइतर समूहका नेताहरूको असहमतिका कारण अद्यावधिकको काम २८ जेठसम्म लम्बिएको थियो । पछिल्लो समय कांग्रेसले सदस्यता अद्यावधिक गर्न इच्छुक सदस्यहरूका लागि २० असारसम्मको समयावधि तोकेको छ ।
यस्तै, नवीकरण नभएका क्रियाशील सदस्यता नवीकरण र अद्यावधिकको समय सीमा पनि २० असारसम्मलाई तोकिएको छ । १५ असारभित्र सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सदस्यताको अन्तिम सूची केन्द्रीय कार्यसमितिलाई बुझाउने पनि बैठकले निर्णय गरेको थियो । केन्द्रीय कार्यसमितिले असार मसान्तभित्र अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि तोकेको थियो । तर, इच्छुक क्रियाशीलको सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणको काम सहज ढंगले अघि नबढेकाले तोकिएको समयमा काम सम्पन्न हुनेमा आशंका छ ।
संस्थापन पक्षले १५औँ महाधिवेशनको मिति नसर्ने गरी क्रियाशील सदस्यताको काम भइरहेको दाबी गरिरहँदा विशेष महाधिवेशनको विपक्षमा रहेको असन्तुष्ट पक्षका शीर्ष नेताहरूले भने सदस्यता अद्यावधिक गरेका छैनन् । संस्थापन पक्ष सदस्यता अद्यावधिक नगर्ने नेताहरू आगामी महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने बताउँदै आएको छ । पार्टी सभापति गगन थापाले ९ असारमा झापामा आयोजित एक कार्यक्रममा क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । पार्टीमा क्रियाशील सदस्यता नवीकरणको विवाद चर्किरहेका बेला सभापति थापाको अभिव्यक्तिले कांग्रेसमा थप द्वन्द्व निम्त्याएको छ । सभापति थापाको अभिव्यक्तिपछि पूर्वसंस्थापन शेरबहादुर देउवा पक्षीय नेताहरू झन् रुष्ट बनेका छन् ।
प्रक्रिया नै झन्झटिलो
क्रियाशील सदस्यता अद्यावधिकको काम सकेर नयाँ क्रियाशील सदस्यता खोलेको एक महिना पुगिसकेको छ । तर, कतिले सदस्यता माग गरे भन्ने यकिन तथ्यांक अझै केन्द्रमा पुगेको छैन । कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको जेठ १८ गते बसेको बैठकले पार्टीको नयाँ क्रियाशील सदस्यता खोल्ने निर्णय गरेको थियो । महामन्त्री प्रदीप पौडेल संयोजकत्वको समितिले क्रियाशील सदस्यता खुला गरेको असार १७ गते (आज) एक महिना पूरा भएको छ । तर, अहिलेसम्म कतिले नयाँ सदस्यताका लागि आवेदन दिए भन्ने यकिन तथ्यांक केन्द्रमा आइनपुगेको स्वीकार गर्दै समिति संयोजक एवं महामन्त्री पौडेलले भन्नुभयो, ‘हाम्रो नयाँ क्रियाशील सदस्यता दिने प्रक्रिया लामो छ । त्यसैले केही मात्रै केन्द्रमा आए पनि धेरै आइपुगेका छैनन् । इच्छुक व्यक्तिले पार्टीको वडा कार्यालयमा निवेदन दिएपछि केन्द्रमा आइपुग्न पाँच स्टेप पार गर्नुपर्छ । त्यसैले प्रक्रिया पूरा हुने क्रममा रहेको जानकारी तल्लो तहबाट आइरहेको छ ।’
विधानमा गरिएको व्यवस्थाअनुसार पार्टीको क्रियाशील सदस्यता लिन इच्छुक व्यक्तिले वडामा निवेदन दिने, त्यो निवेदनमा प्रक्रिया पुर्याएर पार्टीको वडा समितिले पालिका समितिलाई पठाउनुपर्छ । पालिका समितिले प्रदेशसभा क्षेत्रीय समिति, प्रदेशसभा क्षेत्रीय समितिले प्रतिनिधिसभा क्षेत्रीय समितिमा पठाउँछन् । प्रतिनिधिसभा क्षेत्रीय समितिले सदस्यता स्वीकृत गरी केन्द्रमा प्रमाणीकरणका लागि पठाउने प्रावधान छ ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिको रेकर्डमा अहिलेसम्म ६ लाख ४७ हजार बढिले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् । गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहका नेता कार्यकर्ताले क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन् । कांग्रेसको १४औँ महाधिवेशनमा आठ लाख ६६ हजार २०२ क्रियाशील सदस्य थिए । पछिल्लो डिजिटल अद्यावधिक अभियानमा सात लाख ८२ हजार २०९ सदस्य मात्र योग्य देखिएको कांग्रेसले जनाएको छ । तीमध्ये हालसम्म पाँच लाखबढी सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको छ । तर, करिब एक लाख ७८ हजार सदस्य अझै अद्यावधिक प्रक्रिया बाहिर छन् । सभापति थापाले पाँच लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक भइसकेको र नवीकरण नगर्ने पार्टीका सदस्य नरहने भनेर घोषणा गरेपछि थप विवाद चर्किएको छ । असन्तुष्ट पक्षका नेताहरूले सदस्यता विवाद पूर्णरूपमा समाधान गर्न वर्तमान नेतृत्वले नसकेको दाबी गर्दै सदस्यता नवीकरणमा आफूहरू संलग्न नरहेको जनाएको छ ।
संस्थापन इतर पक्षद्वारा सातवटै प्रदेशस्तरीय भेला सम्पन्न
पार्टीभित्र आन्तरिक विवादकाबीच निवर्तमान संस्थापन पक्षले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरेको छ । प्रदेशस्तरीय भेलाअन्तर्गत अन्तिम भेला मंगलबार दाङको लमहीमा भएको छ । यसअघि तयारी नपुगेको भन्दै रोकिएको लुम्बिनी प्रदेशस्तरीय भेला मंगलबार लमहीमा गरिएको हो ।
पार्टीमा बृहत् एकता कायम गर्ने, विशेष महाविधेशनका कारण छोडिएका, निराश भएका नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा ल्याउने र समसामयिक राजनीतिको समीक्षा गर्ने उद्देश्यसहित इतर पक्षले भेला आयोजना गरेको हो । यसअघि ६ प्रदेशमा भेला सम्पन्न गरिसकेको छ । लुम्बिनी प्रदेशस्तरीय भेलामा लुम्बिनी प्रदेशका विशेष महाधिवेशनको विपक्षमा रहेका नेता-कार्यकर्ता सहभागी रहेको बताइएको छ । भेलालाई गुरु बराल, किशोरसिंह राठोर लगायतका केन्द्रीय नेताले सम्बोधन गरेका थिए । हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया