असार २१, २०८३ आइतबार July 5, 2026

मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव

वित्तीय नीति र मौद्रिक नीतिको तादम्यता हुनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सरोकारवालाले आगामी आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका धेरै विषयलाई समावेश गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा पूर्वगभर्नर, बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायीका छाता सङ्गठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेट्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मौद्रिक नीतिले मुलुकको खस्कँदो अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने धारणा राख्नुभयो । वित्तीय नीति र मौद्रिक नीतिको तादम्यता हुनुपर्नेमा जोड दिँदै उहाँले केन्द्रीय बैङ्कको स्वायत्ततालाई कायम राख्नुपर्ने बताउनुभयो ।

पूर्वगभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमानयोग्य हुने भएकाले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने उल्लेख गर्नुभयो ।

पछिल्लो अवस्थालाई ख्याल गर्दा केन्द्रीय बैंकले बैङ्क दर, नीतिगत दर वा ब्याजदर करिडोरलाई थप कडा बनाउने आधार नभएको उहाँको भनाइ थियो । उहाँले मूल्य  स्थिरता र बाह्य क्षेत्रको अवस्था सन्तोषजनक रहेकाले ब्याजदर तथा अन्य मौद्रिक उपकरण थप कसिलो बनाउनु जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले आन्तरिक उत्पादन वृद्धि र अर्थतन्त्र सुधारका लागि विगतमा लागू गरिएका नीतिहरू सहजताका नाममा हटाउन नहुने तर्क गर्नुभयो ।

पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले केन्द्रीय बैङ्कको स्वायत्तता र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान गर्नुपर्ने बताउनुभयो । मौद्रिक नीतिको उद्देश्य मुद्रास्फीति नियन्त्रण गर्ने र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने भएकाले सोहीअनुसार नै जिम्मेवारी पूरा गर्ने उहाँको भनाइ थियो । बैङ्किङ क्षेत्रमा बढ्दो खराब कर्जा व्यवस्थापनका लागि ‘एसेट म्यानेजमेन्ट कम्पनी’ स्थापना गर्न उहाँले सुझाव दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले केही विषय सम्बोधन गरे पनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने बताउनुभयो । मुलुकको अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीतिमार्फत नीतिगत सुधार भएका खण्डमा धेरै सहज हुने उहाँको कथन थियो ।

देशमा रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने भएकाले निजी क्षेत्रलाई साथ र सहयोग जरुरी रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

नवील बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैङ्क तथा वित्तीय संस्था समस्यामा जानु भनेको मुलुक पनि समस्यामा जानु हो भन्ने बुझेर मौद्रिक नीति तय गर्नुपर्ने धारणा राख्नुभयो । परिस्थितिका कारण बैङ्कको साँवा र व्याज तिर्न नसक्ने र जानाजान नतिर्नेहरूको वर्गीकरण हुनुपर्ने उहाँको भनाइ थियो । बैङ्किङ प्रक्रियालाई सरल बनाउनका लागि उहाँले कानुनी सुधारको आवश्यकता औँल्याउनुभयो ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले पछिल्ला दिनमा देखापरेको आर्थिक शिथिलतालाई ख्याल गरेर नीति तय हुनुपर्ने बताउनुभयो । अध्यक्ष कोइरालाले कर्जा नोक्सानीसम्बन्धी प्रावधानमा केही परिमार्जन जरुरी रहेको उल्लेख गर्नुभयो ।

बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपालका अध्यक्ष प्रचण्ड श्रेष्ठले बैङ्किङ क्षेत्र अहिले समस्यामा रहेकाले केन्द्रीय बैंकले थप अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने तर्क गर्नुभयो । सूक्ष्म निगरानी  र खराब कर्जाको वर्गीकरणमा हुने थोरै लचकताले पनि बजारमा सकारात्मक सन्देश जाने उहाँको भनाइ थियो ।

बैठकमा नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष भीमप्रसाद घिमिरे, अर्थतन्त्रका जानकार नरबहादुर थापालगायतले समयानुकूल मौद्रिक नीतिको आवश्यकता औँल्याउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयका १०० दिनः प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म
२०८३ असार २१, आइतबार
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असार २१, आइतबार
‘सरकारले निजी क्षेत्रलाई अपराधीझैँ व्यवहार गरिरहेको छ’ : सभापति थापा
२०८३ असार २१, आइतबार
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छः महामन्त्री पौडेल
२०८३ असार २१, आइतबार
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन
२०८३ असार २१, आइतबार
डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते
२०८३ असार २१, आइतबार
मालदह आँपको मूल्य बढ्यो
२०८३ असार २१, आइतबार