दोहा । कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। कतारको शाही दरबार अमिरी दिवानले आइतबार विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको हो।
अमिरी दिवानद्वारा जारी विज्ञप्तिमा गहिरो दुःख व्यक्त गर्दै पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको आइतबार बिहान निधन भएको जनाइएको छ। विज्ञप्तिमा उनलाई राष्ट्रका लागि अत्यन्त महत्वपूर्ण व्यक्तित्वका रूपमा स्मरण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरिएको छ।
शेख हमाद बिन खलिफा अल थानीले सन् १९९५ देखि २०१३ सम्म कतारका अमिरका रूपमा नेतृत्व गरेका थिए। उनको शासनकालमा कतारले आर्थिक, पूर्वाधार, शिक्षा, स्वास्थ्य र कूटनीतिक क्षेत्रमा उल्लेखनीय फड्को मारेको मानिन्छ। प्राकृतिक ग्यास उद्योगको तीव्र विकासमार्फत कतारलाई विश्वकै धनी राष्ट्रमध्ये एक बनाउने श्रेय पनि उनलाई दिइन्छ।
उनले कतारलाई अन्तर्राष्ट्रिय कूटनीतिमा प्रभावशाली राष्ट्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। शिक्षा, अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउँदै कतार फाउन्डेसन जस्ता संस्थाको विस्तारमा उनको विशेष योगदान रहेको मानिन्छ। साथै, विश्व चर्चित समाचार संस्था अल जजिराको विकास र विस्तारमा पनि उनको महत्वपूर्ण भूमिका थियो।
सन् २०१३ मा उनले स्वेच्छाले राजगद्दी त्याग गर्दै आफ्नो छोरा शेख तमिम बिन हमाद अल थानीलाई अमिरको जिम्मेवारी हस्तान्तरण गरेका थिए। मध्यपूर्वमा स्वेच्छाले सत्ता हस्तान्तरण गर्ने दुर्लभ शासकमध्ये उनी एक मानिन्छन्।
उनको निधनप्रति कतार सरकार, शाही परिवार, विभिन्न राष्ट्रका नेताहरू तथा अन्तर्राष्ट्रिय समुदायले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया