काठमाडौँ, २७ असार । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘के’ नेपालले लायन वर्ष २०२६–२०२७ का लागि नवनिर्वाचित डिष्ट्रिक्ट क्याबिनेट पदाधिकारीहरूको औपचारिक पदस्थापन तथा ‘डीजी टिम चेयरिङ’ कार्यक्रम सम्पन्न गर्दै नयाँ कार्यकालको औपचारिक सुरुवात गरेको छ। ‘Leading with Purpose’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नयाँ नेतृत्वले सेवा, नेतृत्व विकास, सदस्यता विस्तार र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारी, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर विष्णुहरि फुयाल, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर हसन कुमार गोपाली, क्याबिनेट सेक्रेटरी गणेश जिसी, क्याबिनेट ट्रेजरर चुडामणी सिलवाल लगायत सम्पूर्ण डिष्ट्रिक्ट क्याबिनेट पदाधिकारीहरूको औपचारिक पदस्थापन गरिएको थियो। कार्यक्रममा डिष्ट्रिक्टका पूर्व गभर्नरहरू, विभिन्न कमिटीका पदाधिकारी, लायन्स क्लबका अध्यक्ष, सदस्य तथा देशभरका क्लब प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पदभार ग्रहणपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीले आफू नेतृत्व प्रदर्शन गर्न नभई सेवा गर्न आएको बताउँदै सम्पूर्ण लायन्स सदस्यलाई सेवा अभियानमा हातेमालो गर्न आग्रह गरे। उनले लायन्सको मूल मर्म नै निस्वार्थ सेवा भएकाले सबैको साथ, सहयोग र सक्रिय सहभागिताबाट मात्रै डिष्ट्रिक्टलाई नयाँ उचाइमा पुर्याउन सकिने उल्लेख गरे।
“म नेता भएर होइन, सेवक भएर आएको हुँ। जहाँ समाजलाई सेवा आवश्यक हुन्छ, त्यहाँ मलाई प्रयोग गर्नुस्,” गभर्नर अधिकारीले भने। उनले आगामी कार्यकालमा सदस्यता विस्तारसँगै गुणस्तरीय सेवा, नेतृत्व विकास, युवा सहभागिता र प्रभावकारी सामाजिक कार्यक्रमलाई विशेष प्राथमिकता दिइने बताए।
कार्यक्रममा लायन्स अन्तर्राष्ट्रियका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले पछिल्लो समय डिष्ट्रिक्टमा नयाँ क्लब स्थापना तीव्र गतिमा भइरहेको उल्लेख गर्दै अब संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने बेला आएको बताए। उनले नयाँ क्लब र सदस्यलाई प्रभावकारी रूपमा परिचालन गर्न नियमित नेतृत्व विकास तथा अभिमुखीकरण तालिम अपरिहार्य रहेको धारणा राखे।
उनले भने, “नयाँ क्लब स्थापना हुनु गर्वको विषय हो, तर ती क्लबलाई सक्रिय, सक्षम र दिगो बनाउन तालिम, अनुशासन र नेतृत्व विकासमा विशेष जोड दिनुपर्छ।”
कार्यक्रमकै क्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘के’ नेपालले लायन वर्ष २०२६–२०२७ को सुरुवातमै विश्वमै सबैभन्दा धेरै नयाँ क्लब स्थापना गर्ने डिष्ट्रिक्ट बन्न सफल भएको ऐतिहासिक उपलब्धिबारे जानकारी गराइएको थियो। निर्धारित लक्ष्यभन्दा बढी क्लब चार्टर गर्दै डिष्ट्रिक्टले अन्तर्राष्ट्रिय स्तरमै पहिलो स्थान हासिल गरेको भन्दै यस सफलतामा सम्पूर्ण लायन्स सदस्य, क्लब तथा नेतृत्व टोलीको सामूहिक योगदान रहेको उल्लेख गरिएको थियो।
कार्यक्रममा निर्वर्तमान डिष्ट्रिक्ट गभर्नर दुर्गाप्रसाद हुमागाईं, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर विष्णुहरि फुयाल लगायतका वक्ताहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सेवा अभियानलाई अझ प्रभावकारी बनाउन सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
वक्ताहरूले लायन्सको सफलताको आधार सेवा, मित्रता, अनुशासन र नेतृत्व भएको उल्लेख गर्दै नयाँ कार्यकालले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि डिष्ट्रिक्ट ३२५ ‘के’ नेपालको प्रतिष्ठा अझ उँचो बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमको सञ्चालन क्याबिनेट सेक्रेटरी लायन गणेश जिसीले गरेका थिए।
विश्वकै सबैभन्दा ठूलो सेवामूलक संस्था लायन्स क्लब्स इन्टरनेसनलअन्तर्गत रहेको डिष्ट्रिक्ट ३२५ ‘के’ नेपालले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, रक्तदान, दृष्टि संरक्षण, भोकमरी न्यूनीकरण तथा विविध मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ। नयाँ नेतृत्वसँगै आगामी दिनमा अझ प्रभावकारी, परिणाममुखी र समुदाय केन्द्रित सेवा कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया