दैलेख, साउन ६ गते । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका –९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीया कमला कुमारी खत्री रावल र उहाँका ९ वर्षीय छोरा आयुस रावल रहेका छन् ।
प्रहरीका अनुसार साउन ३ गते राति करिब ३ बजे कमला घरको बर्दलीमा र छोरा आयुस घरभित्रको कोठामा सुतिरहेका बेला सर्पले टोकेको थियो । राति कुनै असहज लक्षण नदेखिए पनि बिहान दुवै जनालाई रिंगटा लागेपछि उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका –९ का वडाध्यक्ष प्रेमबहादुर रावलका अनुसार आयुसको साउन ४ गते बिहान स्थानीय मेडिकलमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो ।
उपचारका लागि मेडिकलमा पुग्नुभएकी कमलालाई तत्काल उपचार गर्न लैजान स्थानीय मेडिकलले अनुरोध गरेपछि उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याइएको थियो । जिल्ला अस्पतालले जिल्लामा उपचार सम्भव नभएको बताएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिदिएको थियो ।
प्रदेश अस्पताल सुर्खेतमा उपचारकै क्रममा साउन ६ गते बिहान कमलाको पनि निधन भएको उहाँले जानकारी दिनुभयो । श्रीमान र श्रीमती र छोरा छोरीसँगै सुतेको समयमा बार्दलीमा सुत्नुभएकी कमल र भित्र कोठमा सुतेका छोरालाई सर्पले टोकेको अनुमान प्रहरीले गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया