श्रावण ९, २०८३ शनिबार July 25, 2026

अमेरिका–इरान तनाव उत्कर्षमा

लाल सागरमा तेल ट्याङ्करमाथिको आक्रमणपछि ब्रेन्ट कच्चा तेलको मूल्य आठ प्रतिशतभन्दा बढी बढेर प्रतिब्यारेल १०१.९३ अमेरिकी डलर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दुबई, ८ साउन : अमेरिका र इरानबीच जारी सैन्य तनाव शुक्रबार थप चर्किएको छ । अमेरिकी हवाई आक्रमण निरन्तर जारी रहँदा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानी सम्पत्ति जफत गर्ने चेतावनीलाई उक्साहटपूर्ण कदमको संज्ञा दिएको छ । यसैबीच कुवेतमा मिसाइल र ड्रोन आक्रमण, हुथी विद्रोहीको गतिविधि, संयुक्त राष्ट्रसङ्घको चेतावनी तथा अन्तर्राष्ट्रिय तेल मूल्यमा तीव्र वृद्धि भएपछि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ ।

अमेरिकी सेनाले लगातार १३औँ रात इरानका सैन्य लक्ष्यमाथि आक्रमण गरेको जनाएको छ । अमेरिकी पक्षका अनुसार जलमार्गमा आक्रमण गर्न सक्ने इरानी सैन्य क्षमतामा कमी ल्याउने उद्देश्यले ती कारबाही गरिएको हो । इरानी सरकारी सञ्चारमाध्यमहरूले अमेरिकी क्षेप्यास्त्रले इराक सीमास्थित अहवाज, बन्दर अब्बास र ओमिदियाह क्षेत्रमा विस्फोट गराएको जनाएका छन् । तस्निम समाचार संस्थाले हर्मुज जलघाँटीस्थित केशम टापुको सुजा क्षेत्रनजिक पनि अमेरिकी क्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।

यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकाले नियन्त्रणमा राखेका इरानी सम्पत्तिबाट अमेरिकी जहाज, मालवाहक तथा सम्बन्धित सम्पत्तिमा भएको क्षतिको भरपाई असुल्ने चेतावनी दिनुभएको थियो । त्यसप्रति प्रतिक्रिया जनाउँदै तेहरानले उक्त अभिव्यक्तिलाई भड्काउने प्रकृतिको उदाहरण भएको जनाएको छ ।

क्षेत्रीय तनावका बीच कुवेतले पनि इरानतर्फबाट आएको भन्दै मिसाइल र ड्रोन आक्रमण अवरोध गरेको जनाएको छ । इराक सीमास्थित क्षेत्रमा नयाँ ड्रोन आक्रमणको खबर आएको केही घण्टापछि कुवेती हवाई प्रतिरक्षा प्रणाली सक्रिय भएको थियो । कुवेती सेनाका अनुसार शत्रुतापूर्ण मिसाइल र ड्रोनहरूलाई रोकेर निष्क्रिय पारिएको छ ।

अमेरिकी आन्तरिक राजनीतिमा पनि इरान नीति विवादको विषय बनेको छ । अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति ट्रम्पलाई इरानविरुद्धको सैन्य कारबाही रोक्न आग्रह गर्दै प्रतीकात्मक प्रस्ताव पारित गरेको छ । प्रस्तावमा अमेरिकी कङ्ग्रेसको स्पष्ट स्वीकृतिबिना इरानविरुद्ध युद्धसम्बन्धी गतिविधि अघि नबढाउन आग्रह गरिएको छ ।

यमनका हुथी विद्रोहीहरूले लाल सागरमा तेल ट्याङ्करमाथि आक्रमण जारी राखेपछि युरोपेली मुलुकहरूले त्यसको कडा आलोचना गरेका छन् । जर्मनीले यसले द्वन्द्व अझ बढाउने चेतावनी दिएको छ भने बेलायतले हुथीहरूको कदमलाई लापरवाहपूर्ण भनेको छ । युरोपेली सङ्घ (इयु) की शीर्ष कूटनीतिज्ञ काजा कालासले ती आक्रमण अस्वीकार्य र अवैध भएको बताउनुभएको छ ।

हुथी आक्रमणपछि राष्ट्रपति ट्रम्पले विद्रोही समूहलाई थप आक्रमण गरे ठूलो सैन्य कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ । उहाँले हुथीहरूलाई इरानको प्रतिनिधि समूह भन्दै त्यसको जिम्मेवारी इरानले पनि वहन गर्नुपर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वको अवस्था नियन्त्रणबाहिर जान थालेको चेतावनी दिनुभएको छ । उहाँले विश्व अहिले अत्यन्तै खतरनाक मोडमा पुगेको उल्लेख गर्दै तत्काल तनाव कम गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

युद्धको प्रभाव अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पनि देखिएको छ । लाल सागरमा तेल ट्याङ्करमाथिको आक्रमणपछि ब्रेन्ट कच्चा तेलको मूल्य आठ प्रतिशतभन्दा बढी बढेर प्रतिब्यारेल १०१.९३ अमेरिकी डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) ७.६ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ९३.४४ अमेरिकी डलर पुगेको छ ।

यसैबीच बेलायतले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै इरानमा रहेका आफ्ना बाँकी कूटनीतिक कर्मचारीलाई अस्थायी रूपमा फिर्ता बोलाएको छ । बेलायती विदेश मन्त्रालयले तेहरानस्थित दूतावासले अहिले टाढाबाट सेवा सञ्चालन गरिरहेको जनाएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार
देशव्यापी विरोधबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा
२०८३ श्रावण ९, शनिबार