काठमाडौँ, ८ साउनः राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार’ देशको सिमानाका विषयमा निरन्तर उल्लेखनीय योगदान पुर्याउनु हुने सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई आज एक समारोहकाबीच प्रदान गर्नुभयो ।
राष्ट्रिय विभूति भीमसेन थापाको २५२औँ जन्मजयन्तीका अवसरमा श्रेष्ठलाई रु एक लाख एक हजार १११ नगद तथा सम्मानपत्र प्रदान गरियो । त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपालको राष्ट्रियताको संरक्षण र संवर्द्धनमा विभूति भीमसेन थापाको ऐतिहासिक योगदान रहेको चर्चा गर्दै उनको स्मृतिमा राष्ट्रलाई योगदान गर्ने संस्था वा व्यक्तित्वलाई हरेक वर्ष यसरी पुरस्कृत गर्नु प्रशंसायोग्य कार्य भएको बताउनुभयो ।
राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानका अध्यक्ष डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले प्रतिष्ठानले हरेक वर्ष भीमसेन थापाको जन्ममितिका अवसरमा इतिहास वा देशका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने संस्था वा व्यक्तिलाई पुरस्कृत गर्दै आएको उल्लेख गर्दै यो परम्परा निरन्तर जारी रहने बताउनुभयो ।
सो अवसरमा पुरस्कृत व्यक्तित्व सीमाविद् श्रेष्ठले राष्ट्रिय विभूति भीमसेन थापाकै योगदानका कारण नेपाल विश्वमा सार्वभौमिकता सम्पन्न स्वतन्त्र राष्ट्रका रूपमा रहिआएको चर्चा गर्नुभयो ।
त्यस अवसरमा प्रतिष्ठानका उपाध्यक्ष सहप्राध्यापक सुशीलविक्रम थापाद्वारा सङ्कलित भीमसेन थापाकालीन अभिलेख सङ्ग्रह भाग–३ राष्ट्रपतिलाई प्रदान गरियो । भीमसेन थापा पुरस्कारद्वारा विगतमा डा भेषबहादुर थापा, मृगेन्द्र सम्झना चिकित्सा गुठी, राष्ट्रिय आविष्कार केन्द्रलगायत पुरस्कृत भइसकेको प्रतिष्ठानले जनाएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया