श्रावण ८, २०८३ शुक्रबार July 24, 2026

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति

सेनाका बहालवाला तथा अवकाशप्राप्त अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ८ साउनः प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । चीनको जनमुक्ति सेना (पीएलए) स्थापना भएको ९९औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँस्थित चिनियाँ दूतावासले आज आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली सेना र पीएलएबीचको सम्बन्ध सुदृढ रहेको तथा निरन्तर प्रगाढ बन्दै गएको बताउनुभयो ।

प्रधानसेनापति सिग्देलले दुई सेनाबीच हुने नियमित उच्चस्तरीय भ्रमण तथा आदानप्रदानले द्विपक्षीय सैनिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै संयुक्त सैनिक अभ्यासले आपसी विश्वास, समझदारी र सहकार्यलाई थप गहिरो बनाएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नेपाली सेना र पीएलएबीचको सहकार्य अझ विस्तार भई नेपाल–चीनमैत्री सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले विगत ९९ वर्षमा पीएलएले चीनको राष्ट्रिय स्वतन्त्रता, मुक्ति, सार्वभौमसत्ता, सुरक्षा तथा विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै पीएलएको आधुनिकीकरण उल्लेखनीय रूपमा अघि बढेको उल्लेख गर्दै उहाँले त्यसले विश्व शान्तिमा समेत सकारात्मक योगदान पुर्याएको बताउनुभयो ।

राजदूत चाङले मानवीय सहायता, विपद् उद्धार तथा संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा चीनले सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गर्नुभयो । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरूमध्ये चीन शान्ति सैनिक योगदान गर्ने सबैभन्दा ठूलो मुलुक रहेको तथा नेपाल विश्वका प्रमुख शान्ति सैनिक योगदानकर्ता मुलुकहरूमध्ये एक रहेको बताउनुभयो ।

नेपाल र चीनबीचको मैत्री सम्बन्ध दीर्घकालीन, पारस्परिक सम्मान र समानतामा आधारित रहेको उल्लेख गर्दै उहाँले दुवै देशबीचको व्यावहारिक सहयोग तथा मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा चिनियाँ जनमुक्ति सेनाका वरिष्ठ कर्णेल चौ जुनले नयाँ युगको आवश्यकताअनुसार पीएलए निरन्तर आधुनिकीकरण हुँदै गएको तथा राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकासका हितहरूको संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले चीनले नेपालसँगको सैनिक सम्बन्धलाई उच्च महत्त्व दिएको उल्लेख गर्दै उच्चस्तरीय भ्रमण, संयुक्त अभ्यास तथा अन्य पारस्परिक हितका क्षेत्रमा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीमाविद् बुद्धिनारायण श्रेष्ठ राष्ट्रपतिबाट पुरस्कृत
२०८३ श्रावण ८, शुक्रबार
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह
२०८३ श्रावण ८, शुक्रबार
कांग्रेस र नेकपा कर्णालीमा नयाँ सरकार गठन गर्ने गृहकार्यमा
२०८३ श्रावण ८, शुक्रबार
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छः शिक्षामन्त्री
२०८३ श्रावण ८, शुक्रबार
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
२०८३ श्रावण ८, शुक्रबार
गुजरामा खुकुरी प्रहारगरी महिलाको हत्या, आरोपित स्थानीयको कुटाइपछि गम्भीर
२०८३ श्रावण ८, शुक्रबार
पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति
२०८३ श्रावण ८, शुक्रबार