काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन थापा ले पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्सदाइ) सहित सबै दिवङ्गत आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै थापाले ब्रोड पिकबाट आएको दुःखद समाचारले आफू अत्यन्त मर्माहत भएको बताएका छन्।
उनले लेखेका छन्, “‘प्रोजेक्ट पोसिबल’ अघि, संसारले तपाईंको नाम चिन्नुअघि र तपाईंले हिमालमा सम्भावनाको परिभाषा बदल्नुअघि नै मैले तपाईंलाई भेटेको थिएँ। तपाईं सधैँझैँ यसपटक पनि फर्कने बाटो खोज्नुहुन्छ भन्ने मेरो गहिरो विश्वास थियो।”
थापाका अनुसार निर्मल पुर्जाको सबैभन्दा ठूलो योगदान केवल विश्व कीर्तिमान कायम गर्नु मात्र नभई नेपाली पर्वतारोहीप्रति विश्व समुदायको दृष्टिकोण परिवर्तन गर्नु हो। उनले पुर्जाले नेपालीहरू केवल आरोहण अभियानका सहयोगी मात्र नभई नेतृत्व गर्न सक्ने, नयाँ सम्भावना सिर्जना गर्ने र पर्वतारोहणको भविष्य बदल्ने क्षमता भएका व्यक्तित्व हुन् भन्ने प्रमाणित गरेको उल्लेख गरेका छन्।
उनले “तपाईंको विरासत पुस्तौँसम्म प्रेरणाको स्रोत बन्नेछ” भन्दै निर्मल पुर्जाप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
थापाले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर ‘युक्ता’ गुरुङ, किली पेम्बा ‘किलु’ शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा, सोहेल साखी, म्यालोरी गाइस, नधिरा अल हार्थी र वाङ झोङलाई पनि श्रद्धापूर्वक स्मरण गरेका छन्।
उनले प्रत्येक दिवङ्गत आरोहीको नामसँग साहस, त्याग, सपना र परिवारको पीडा जोडिएको उल्लेख गर्दै सम्पूर्ण शोकाकुल परिवार, आफन्त तथा विश्व पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया