काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको लायन वर्ष २०२६/२७ को प्रथम नियमित डिस्ट्रिक्ट क्याबिनेट बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ। बैठकसँगै डिस्ट्रिक्टको नयाँ नेतृत्वले आगामी वर्षका सेवा गतिविधि, सदस्यता विस्तार तथा संगठन सुदृढीकरणका कार्यक्रमलाई औपचारिक रूपमा अघि बढाउने भएको छ।
नेपाल पुलिस क्लब, काठमाडौंमा आयोजना हुने बैठकमा डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको नेतृत्वमा डिस्ट्रिक्टका क्याबिनेट अफिसर, विभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधिलगायत लायन्स नेतृत्वको सहभागिता रहनेछ।
बैठकअघि डिस्ट्रिक्ट क्याबिनेट अफिसर्स इन्स्टलेसन कार्यक्रम समेत आयोजना हुँदैछ। कार्यक्रममा नयाँ लायन वर्षका लागि नियुक्त तथा निर्वाचित क्याबिनेट पदाधिकारीहरूले औपचारिक रूपमा जिम्मेवारी ग्रहण गर्नेछन्।
डिस्ट्रिक्टले यसअघि लायन वर्ष २०२६/२७ मा ३१ वटा नयाँ क्लब स्थापना गर्ने प्रतिबद्धता जनाएको थियो। गभर्नर रमेश अधिकारीको नेतृत्वमा हालसम्म थप ११ वटा क्लब स्थापना भएसँगै नयाँ क्लबको संख्या ४२ पुगेको डिस्ट्रिक्टले जनाएको छ। तीमध्ये ३३ वटा क्लब चार्टर भइसकेका छन् भने बाँकी ९ वटा क्लबको अन्तर्राष्ट्रिय स्वीकृतिको प्रक्रिया अघि बढाइएको छ।
त्यस्तै, सदस्यता विस्तारमा समेत डिस्ट्रिक्ट ३२५ केले उल्लेखनीय प्रगति गरेको छ। जुलाई महिनासम्मको अन्तर्राष्ट्रिय तथ्याङ्कअनुसार क्लब एक्सटेन्सनमा ३१ वटा नयाँ क्लब स्थापनासहित डिस्ट्रिक्ट ३२५ के विश्वमै पहिलो स्थानमा रहेको छ। त्यस्तै नेट मेम्बरशिप ग्रोथमा ५१५ सदस्यको वृद्धिसहित विश्वमै पहिलो स्थान हासिल गरेको डिस्ट्रिक्टले जनाएको छ।
लायन्स अन्तर्राष्ट्रियका पूर्व अन्तर्राष्ट्रिय निर्देशक (PID) विष्णु बजोरियाले समेत डिस्ट्रिक्ट ३२५ के नेपालको उत्कृष्ट उपलब्धिप्रति बधाई दिँदै आगामी दिनमा अझ प्रभावकारी सेवा र संगठन विस्तारका लागि शुभकामना दिएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया