भाद्र ३, २०८३ बुधबार August 19, 2026

महाधिवेशनमा होमियो कांग्रेस, रोक्न खोज्दै देउवा समूह

सभापति थापाले महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको प्रक्रिया अघि बढाएको छ । तर, संस्थापनइतर पक्षका नेताहरू विशेष महाधिवेशनबाट आएको नेतृत्व अस्वीकार गर्दै महाधिवेशन रोक्न लागेका छन् । संस्थापन पक्ष भने पूर्वनिर्धारित मितिमै महाधिवेशन गर्ने गरी अघि बढेको हो । केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले १५औं महाधिवेशन २०८३ असोज १६–१९मा काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।

महाधिवेशनलाई प्राविधिक निर्वाचन प्रक्रियामा मात्रै सीमित नराखी पार्टीको लोकतान्त्रिक नवीकरण, एकता, सहमति, संवाद र व्यापक सहभागिताको महोत्सवका रूपमा सम्पन्न गर्ने वातावरण निर्माण गरिने कांग्रेसले जनाएको छ । गत २४ गतेदेखि भदौ १ गतेसम्म कांग्रेसको केन्द्रीय समितिको बैठक बसेको थियो । विधानअनुसार आगामी मंसिर मसान्तभित्र १५औं महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था छ । यद्यपि, संविधानबमोजिम विशेष कारण पेस गरेर ६ महिना समय थप गर्न पाइने व्यवस्था छ ।

संस्थापनइतर पक्षले सोही व्यवस्थालाई समातेर आगामी जेठ मसान्तसम्म पार्टीको महाधिवेशन गर्न सक्ने भन्दै असोजको महाधिवेशन हुन नसक्ने दाबी गरेको छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले राजनीतिक दलसम्बन्धी ऐन, पार्टीको विधान र नेपालको संविधानबाहिर गएर विशेष महाधिवेशनका नाममा गगन थापा–विश्वप्रकाश शर्मालगायतले पार्टी कब्जा गरेको दाबी गरे । ‘हामी कांग्रेसलाई एकताबद्ध बनाएर मात्रै महाधिवेशनमा जान चाहन्छौं,’  ‘कांग्रेसको विधान, देशको संविधान र राजनीतिक दलसम्बन्धी ऐनविपरित गएर विशेष महाधिवेशनबाट पार्टी कब्जा गरिएको छ ।’

संस्थापन पक्षका नेताहरूले मंसिरभित्र महाधिवेशन नभए पार्टीको वैधानिक हैसियत गुम्ने भन्दै कार्यकर्तालाई भ्रम फैलाएको उनको तर्क छ । ‘केही जिम्मेवार साथीहरूले नै मंसिरबाट कांग्रेसको वैधानिकता सकिन्छ भनेर भ्रम फैलाएको सुनिन्छ,’ खड्काले भने, ‘तर, हाम्रो विधानले पाँच वर्षको समयसीमा दिए पनि संविधानअनुसार विशेष परिस्थितिमा ६ महिना समय थप्न सकिने व्यवस्था छ । त्यसअनुसार ०८४ जेठ मसान्तसम्म महाधिवेशन गर्न समय कांग्रेसलाई छ ।’

पार्टीलाई वैधानिक सांगठनिक र वैचारिक हिसाबले स्वस्थ राख्न नियमित महाधिवेशन गर्नुपर्ने पार्टीको दायित्वलाई सबै पक्षले सहयोग गर्नुपर्ने संस्थापन पक्षका नेताहरूले बताएका छन् । तर, महाधिवेशन रोक्न इतर समूह अदालत जाने तयारीमा छ । कांग्रेसले अघिल्लो मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने थियो ।

आन्तरिक विवाद बढ्दै जाँदा प्रतिनिधिसभाको निर्वाचनलाई देखाएर महाधिवेशन सार्ने निर्णय गरेपछि तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूले विद्रोह गरे । उनीहरूकै अगुवाइमा ४७ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गरेका थिए ।

तर, ५७ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरमा विशेष महाधिवेशन सम्पन्न भएको नेपाली कांग्रेसकी नेता डा. डिला संग्रौला पन्तले जिकिर गरिन् । ‘विशेष महाधिवेशनबाट आएको नयाँ नीति र नेतृत्वले कांग्रेसलाई पुनर्जाग्रित गराउने काम गरेको छ,’ उनले भनिन्, ‘यही समितिले कांग्रेसलाई एकताबद्ध र सबैको अपनत्व हुनेगरी १५ नियमित महाधिवेशन तोकिएकै समयमा गर्नेछ ।’

विशेष महाधिवेशनको म्यान्डेट पनि महाधिवेशन नै भएको उनको भनाइ छ । पार्टीको आन्तरिक समस्या समाधानमा सभापति गगन थापासहित पदाधिकारीले संस्थापनइतर पक्षका नेताहरूसँग आवश्यक संवाद गरिरहेको उनले दाबी गरिन् । उनले भनिन्, ‘विधानको परिधिभित्र रहेर असन्तुष्ट पक्षलाई समेट्न सदस्यता अध्यावधिक नगरेकाहरूको समेत सदस्यता अध्यावधिक गरेर महाधिवेशनमा जाने निर्णय भएको छ ।’

नेपालको संविधान तथा प्रचलित कानुनले निर्धारण गरेको समयसीमा र विशेष महाधिवेशनको निर्णयलाई ध्यानमा राखी पार्टीको १५औं महाधिवेशन समयमै सम्पन्न गर्नु पार्टीको वैधानिक तथा राजनीतिक दायित्व भएको कांग्रेसको निर्णयमा उल्लेख छ । नौ दिनसम्म चलेको बैठकले सभापति गनगकुमार थापाको संयोजकत्वमा १५औं महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिमा आवश्यकताअनुसार सदस्यहरू रहने बताइएको छ । बैठकले महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायत विभिन्न उपसमिति निर्माण गर्ने पनि निर्णय गरेको छ ।

ती उपसमितिमा रहने संयोजक र सदस्यको नामावली पछि प्रकाशित गरिने प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार सभापति थापाले महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव पेस गर्नेछन् । सभापतिको प्रस्तावमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई विशेष महत्त्व दिइने बताइएको छ । महाधिवेशनमा उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरणको अभिभारा’ विषयक प्रस्ताव पेस गर्ने कांग्रेसले निर्णय गरेको छ ।

निर्णयअनुसार अर्का उपसभापति पुष्पा भुसालले प्रदेश निर्वाचन विशेष प्रस्ताव र महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रस्ताव महाधिवेशनमा पेस गर्ने भएका छन् । कांग्रेसले प्रवक्ता चालिसेको संयोजकत्वमा १५औं महाधिवेशन प्रचार–प्रसार समिति गठन गरेको छ । बैठकले विधानलाई समयसापेक्ष बनाउँदै पार्टी संगठनलाई थप प्रभावकारी बनाउन आवश्यक संशोधनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिलाई पार्टीका विभिन्न तह, निकाय तथा सदस्यबाट सुझाव लिन र प्राप्त सुझावसमेत अध्ययन गरी विधान संशोधनको प्रस्ताव केन्द्रीय कार्यसमितिसमक्ष पेस गर्न भनिएको छ । केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन गर्नका लागि व्यवधान रहेको विधानको धारा ३५ (२)(घ) निलम्बन गरेको छ । ‘स्थानीय तहका अधिवेशनबाट प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि निर्वाचित हुने प्रतिनिधि प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन हुनुभन्दा तीन महिनापहिले निर्वाचित गरिनेछन्,’ उक्त धारामा भनिएको छ । उक्त व्यवस्थाअनुसार महाधिवेशन गर्न समयावधि अपुग भएसँगै कांग्रेसले विधानको धारा निलम्बन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए ।मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया