काठमाडौं, ११ भदौ । राप्रपाका नेता तथा कालिका कन्स्ट्रक्सन प्रालिका अध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेका छन्।
सरकारले बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोगको आह्वान गरेपछि पाण्डेले कोषमा उक्त रकम प्रदान गरेका हुन्। उनले तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
पाण्डेले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउन सबैलाई आग्रह गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया