भाद्र १३, २०८३ शनिबार August 29, 2026

शिक्षक हत्या गरेको आरोपमा ११ जना प्रहरी नियन्त्रणमा

योजनाबद्ध तरिकाले गाउँले उठाएर कुटपिट गरी शिक्षक राईको हत्या भएको मृतकका आफन्तको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ । केपिलासगढी गाउँपालिका-७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लाग्ने मेला भर्न गएका बेला बिहीबार राति भएको विवादपछि कुटपिट हुँदा शिक्षक राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिक्षक राईको ज्यान जाने गरी कुटपिटमा संलग्न सुङ्देलका ११ जना रहेका प्रारम्भिक अनुसन्धानमा खुलेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

“घटनास्थलसम्म पैदल जानुपर्छ । त्यस क्षेत्रमा टेलिफोनको नेटवर्कले काम गर्दैन । घटनाका विषयमा थप विवरण आउन बाँकी छ”, उनले भने, “प्रारम्भिक अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएका छौँ । घटनास्थलबाट प्रहरी टोली फर्किएपछि थप विवरण खुल्छ । आरोपितसहित घटनास्थलबाट हिँडेका प्रहरी टोली आज बेलुकासम्ममा जिल्ला प्रहरी कार्यालय भोजपुर आइपुग्ने अनुमान गरेका छौँ ।”

राहत कोटाको निम्न माध्यमिक तहमा कार्यरत शिक्षक राईको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएका कसैको पनि अहिलेसम्म विवरण खुलाएको छैन । शिक्षक राईको हत्या सामूहिक कुटपिटबाट भएकाले घटनाका दोषी कोही पनि उम्कन नदिने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ऋषितर्पणी पूर्णिमादेखि लगातार तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा पुगेर फर्कने भन्दै शिक्षक राई बिहीबार गाउँबाट हिँडेको विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईले बताए । सङ्खुवासभाबाट फर्किएर सालपा पोखरी पुगेका शिक्षक राई बिहीबार राति गाउँलेहरूसँग बास बसेको जानकारी पाइएको उनको भनाइ छ ।

सालपा पोखरी नजिकै आयोजना गरिएको धार्मिक मेला भर्ने क्रममा बिहीबार दिउँसो सुङ्देलकै माइकल भनिने निशान राईसँग विवाद भएको प्रत्यक्षदर्शीले बताएका छन् । दिउँसोको विवादपछि राति योजनाबद्ध तरिकाले गाउँले उठाएर कुटपिट गरी शिक्षक राईको हत्या भएको मृतकका आफन्तले आरोप लगाएका छन् ।

घटना भएको क्षेत्र भोजपुर जिल्लामा पर्ने भएकाले अनुसन्धान तथा कारबाहीको सबै प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले गर्ने कानुनी व्यवस्था छ । घटनाका विषयमा थप सहयोग गर्नुपरेको खण्डमा जिल्लाबाट सहयोग गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार
परराष्ट्रमन्त्री खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद
२०८३ भाद्र १३, शनिबार
सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री
२०८३ भाद्र १३, शनिबार
नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा
२०८३ भाद्र १३, शनिबार
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु १० करोड सहयोग
२०८३ भाद्र १३, शनिबार
लोककल्याणकारी विज्ञापन कटौती फिर्ता लिन पत्रकार महासंघ काठमाडौंको माग
२०८३ भाद्र १३, शनिबार
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार