काठमाडौँ । प्राध्यापक डा. तारा दत्त भट्ट सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त भएका छन्। उच्च शिक्षा, अनुसन्धान तथा विश्वविद्यालय प्रशासनको क्षेत्रमा लामो समयदेखि सक्रिय भट्टसँग करिब चार दशकको शैक्षिक तथा प्रशासनिक अनुभव रहेको छ। भट्टले त्रिभुवन विश्वविद्यालयमा केन्द्रीय शिक्षा विभागका प्रमुख, अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक तथा अनुसन्धान डिभिजनका प्रमुखलगायत महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। केन्द्रीय शिक्षा विभागको नेतृत्व गर्दा उनले शैक्षिक कार्यक्रमको योजना तथा कार्यान्वयन, विभागीय प्रशासन, बजेट व्यवस्थापन, स्रोत परिचालन तथा जनशक्ति व्यवस्थापनमा काम गरेका थिए।
त्यस्तै, त्रिविको अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशकका रूपमा उनले विश्वविद्यालयको अनुसन्धान रणनीति तथा योजना निर्माण, अनुसन्धान प्रशासन, अनुदान व्यवस्थापन, अनुसन्धान प्रस्ताव समीक्षा, बौद्धिक सम्पत्ति अधिकार तथा विभिन्न संस्थासँगको सहकार्यमा काम गरेका थिए। उनले त्रिभुवन विश्वविद्यालय जर्नल प्रकाशनको जिम्मेवारीसमेत सम्हालेका थिए।
भट्टले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर कार्यक्रम संयोजक, कार्यवाहक क्याम्पस प्रमुख तथा सहायक क्याम्पस प्रमुखका रूपमा समेत काम गरिसकेका छन्। क्याम्पस प्रशासन, बजेट तथा स्रोत व्यवस्थापन, जनशक्ति व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार, पूर्वाधार विकास र रणनीतिक योजना निर्माणमा समेत उनको अनुभव रहेको छ। सुदूरपश्चिम विश्वविद्यालयसँग पनि भट्टको लामो शैक्षिक सम्बन्ध छ। उनी सन् २०७६ देखि विश्वविद्यालयको अंग्रेजी शिक्षा विषय समितिको अध्यक्ष तथा भिजिटिङ प्रोफेसरका रूपमा कार्यरत थिए। यसअघि उनले विश्वविद्यालयको सेवा आयोगको सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्। सेवा आयोग सदस्यका रूपमा उनले विज्ञ छनोट, पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा शिक्षक-कर्मचारी नियुक्तिसम्बन्धी प्रक्रियामा काम गरेका थिए।
भट्टले त्रिभुवन विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर, एमफिल र पीएचडी तहका विद्यार्थीको अनुसन्धान निर्देशनसमेत गरेका छन्। विभिन्न विश्वविद्यालय तथा उच्च शिक्षा निकायका लागि पाठ्यक्रम तथा पाठ्यक्रम सामग्री निर्माणमा समेत उनको योगदान रहेको छ। उनले सन् २००८ मा भारतको पञ्जाब विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी), सन् २००३ मा डेनमार्कको ड्यानसि युनिभर्सिटी अफ एजुकेसनबाट एमफिल तथा त्रिभुवन विश्वविद्यालयबाट एमएड गरेका छन्।भट्टको विशेषज्ञता शैक्षिक तथा प्रशासनिक नेतृत्व, अनुसन्धान व्यवस्थापन, योजना तथा वित्तीय प्रशासन, अंग्रेजी भाषा शिक्षा, द्विभाषिक तथा बहुभाषिक शिक्षा तथा शैक्षिक सामग्री विकासमा रहेको छ। उनले नेपालसँगै डेनमार्क, जर्मनी, फ्रान्स, नर्वे, स्वीडेन र अमेरिकामा विभिन्न शैक्षिक तथा व्यावसायिक गतिविधिमा सहभागिता जनाएका छन्।
उनका विभिन्न पुस्तक तथा अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्। उनले त्रिभुवन विश्वविद्यालय जर्नललगायत विभिन्न शैक्षिक जर्नलको सम्पादनसमेत गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया