भाद्र २१, २०८३ आइतबार September 6, 2026

उतरतर्फ वैकल्पिक नाका खोज्दै सरकार

तातोपानी र कोरला दुवैलाई उपयोग गर्ने सरकारको प्रयासले भने एउटा दीर्घकालीन बहससमेत सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकाको नेपाली र चिनियाँ दुवैतर्फका पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ । नेपालतर्फ भन्सार, मितेरी पुल, टिमुरे बजारलगायत संरचनामा क्षति पुगेको छ भने चीनतर्फ पनि केरुङतर्फको सम्पर्क पूर्वाधार प्रभावित छ । रसुवागढी केरुङ नाका ध्वस्त भयो । यससँगै चीनसँगको व्यापारिक आवागमन ठप्प छ । नेपालको चीनसँगको मुख्य व्यापारिक नाका नै बन्द भएपछि सरकारले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्ने र दीर्घकालीन रूपमा भरपर्दो विकल्प खोज्ने तयारी थालेको छ ।

रसुवागढी बन्द भएपछि तत्कालको विकल्पका रूपमा मुस्ताङको कोरला नाकालाई प्रयोग गर्न थालिएको छ । तर, कोरला उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले वर्षभरि निर्बाध सञ्चालन गर्न सकिने नाकाका रूपमा यसलाई तत्कालै रसुवागढीको विकल्प मान्न कठिन छ । सडक तथा भन्सार पूर्वाधारको क्षमता पनि रसुवागढीमा हुँदै आएको व्यापारिक चाप धान्ने स्तरमा पुगिसकेको छैन ।

त्यसमाथि चीनले तातोपानी नाकाबाट हुने आयातनिर्यातसमेत अस्थायी रूपमा रोकेपछि नेपालको उत्तरी व्यापारिक आपूर्ति प्रणालीमा थप दबाब परेको छ । यही अवस्थाबीच सरकारले चीनसँग वैकल्पिक व्यापारिक मार्ग सञ्चालनका लागि कूटनीतिक पहल अघि बढाएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले भदौ १६ गते एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै रसुवागढीमा रोकिएका चिनियाँ मालवाहक कन्टेनरलाई वैकल्पिक नाकाबाट ल्याउने विषयमा चीनसँग छलफल भइरहेको बताएका थिए ।

उनका अनुसार रसुवागढीको चिनियाँतर्फ सयौँ कार्गो ट्रक रोकिएका छन् । उत्तरी आपूर्ति प्रणाली पूर्ण रूपमा नटुटोस् भनेर ती सामानलाई तातोपानी र कोरला नाकाबाट डाइभर्ट गर्न चिनियाँ अधिकारीसँग अनुमति मागिएको छ ।

मन्त्री खनालका अनुसार सरकारको चासो केवल रसुवागढीबाट रोकिएका सामान नेपाल ल्याउनेमा मात्र सीमित छैन ।

उनले भनेका छन्, ‘रसुवागढी बन्द भएपछि चीनसँगको व्यापार र पर्यटक आवागमनमा परेको असरलाई कम गर्न वैकल्पिक सीमा नाकाको प्रयोगबारे चीनसँग निरन्तर संवाद भइरहेको छ ।’

यसले अहिलेको अवस्थामा कोरला नाका तत्कालको महत्त्वपूर्ण विकल्प बनेको देखाउँछ । रसुवागढी बन्द भएपछि चीनबाट नेपाल आउने कतिपय मालवाहक सवारीलाई कोरला हुँदै ल्याउने प्रयास भइरहेको छ । तर, कोरला नाकाको भौगोलिक अवस्थाले भने दीर्घकालीन व्यापारिक विकल्पका रूपमा प्रश्न उठाएको छ ।

कोरला समुद्री सतहबाट करिब ४ हजार ६ सय मिटरभन्दा माथिको उचाइमा रहेको उच्च हिमाली नाका हो । हिउँदमा हुने हिमपात, चिसो मौसम र सडकको अवस्था यसको नियमित सञ्चालनका चुनौती हुन् । त्यसैले रसुवागढीको ठाउँ तत्कालै कोरलाले लिन सक्ने अवस्था छैन ।

व्यापारको परिमाणका हिसाबले पनि फरक ठूलो छ । रसुवागढी केरुङ नाका पछिल्ला वर्षमा नेपाल चीनबीचको स्थल व्यापारको प्रमुख प्रवेशद्वार बनेको थियो । २०७२ सालको भूकम्पपछि तातोपानी नाका लामो समय प्रभावित भएपछि चीनसँगको व्यापारिक कारोबार क्रमशः रसुवागढीतर्फ केन्द्रित भएको थियो ।

त्यसैले रसुवागढीमा आएको क्षति एउटा सीमा नाका बन्द भएको घटना मात्र नभएर नेपालको उत्तरी आपूर्ति प्रणालीमा परेको गम्भीर धक्का हो ।

सरकारले भने अहिले दुई तहमा काम अघि बढाइरहेको छ । पहिलो, चीनतर्फ रोकिएका नेपाली तथा चिनियाँ मालवाहक कन्टेनरलाई सम्भव भएसम्म वैकल्पिक नाकाबाट नेपाल भित्र्याउने र दोस्रो, रसुवागढी पुनः सञ्चालनका लागि आवश्यक समन्वय र पुनर्निर्माणको काम अघि बढाउने ।

परराष्ट्र मन्त्रालयले बाढीपछि चीनसँग निरन्तर सम्पर्कमा रहेर प्रभावित नेपाली तथा विदेशी नागरिकको उद्धार, सीमा क्षेत्रको अवस्थाबारे सूचना आदानप्रदान र आवागमन सहज बनाउने विषयमा काम गरिरहेको छ । मन्त्रालयले भदौ ११ गते विदेशी नागरिकका लागि उद्धार तथा समन्वय गर्न आपत्कालीन संयन्त्रसमेत गठन गरेको थियो ।

मन्त्री खनालका अनुसार सीमा क्षेत्रको संवेदनशीलता र चीनको आफ्नै सीमा व्यवस्थाका कारण वैकल्पिक नाकाबाट मानिस तथा सामान आवतजावत गराउन छुट्टै समन्वय आवश्यक पर्छ । यही कारण सरकारले चिनियाँ अधिकारीसँग अनुमति र व्यवस्थापनबारे छलफल गरिरहेको हो ।

रसुवागढी बन्द भएको अवस्थामा तातोपानी र कोरला दुवैलाई उपयोग गर्ने सरकारको प्रयासले भने एउटा दीर्घकालीन बहससमेत सुरु गराएको छ । नेपालले चीनसँगको व्यापारका लागि एउटै मुख्य नाकामा निर्भर रहने कि वैकल्पिक नाकालाई पनि समान रूपमा विकसित गर्ने भनेर छलफल चलिराखेको छ ।

रसुवागढीमा विपद् आउँदा नेपालको चीनसँगको व्यापारिक आपूर्ति प्रणाली नै प्रभावित हुने अवस्था देखिएपछि उत्तरी नाकाको विविधीकरण आवश्यक देखिएको हो । कोरला, तातोपानीलगायत नाकालाई पूर्वाधार, सडक, भन्सार तथा सुरक्षा व्यवस्थासहित व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन सके भविष्यमा एउटै नाका बन्द हुँदा सम्पूर्ण व्यापार ठप्प हुने जोखिम घटाउन सकिन्छ ।

तर, त्यसका लागि चीनको सहमति र सहकार्य अनिवार्य छ । सीमा नाका सञ्चालन, व्यापारिक मार्ग परिवर्तन तथा चिनियाँ भूभागमा रोकिएका कन्टेनरको रुट परिवर्तनजस्ता विषय दुई देशबीचको समन्वयबाट मात्रै सम्भव हुन्छ मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया