भाद्र २२, २०८३ सोमबार September 7, 2026

एआईबाट ओलीको तस्बिर दुरुपयोग गरिएको भन्दै एमालेको आपत्ति

आपत्तिजनक सामग्री उत्पादन तथा प्रसारण गर्ने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर प्रयोग गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिबाट तयार पारिएका भ्रामक तथा आपत्तिजनक सामग्री सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले डिजिटल प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्वको चरित्रमा आँच पुर्‍याउने उद्देश्यले यस्ता सामग्री सार्वजनिक गरिएको बताएका छन् ।

आचार्यले सामाजिक सञ्जालमार्फत घटनालाई अराजनीतिक, अनैतिक तथा आपराधिक गतिविधिको संज्ञा दिँदै त्यस्ता सामग्रीको घोर निन्दा गरेका छन् । उनले नेतृत्वविरुद्ध भ्रम फैलाउने तथा अपमानजनक सामग्री प्रसारण गर्ने गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई चेतावनी दिएका छन् ।

एमालेले एआईलगायत डिजिटल प्रविधिको दुरुपयोग गरी आपत्तिजनक सामग्री उत्पादन तथा प्रसारण गर्ने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरो तथा सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराएको छ ।

पार्टीले विद्युतीय कारोबार ऐन तथा प्रचलित कानुनविपरीत हुने यस्ता गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै दोषीमाथि प्रभावकारी कानुनी कारबाहीको माग गरेको छ ।

एमालेका अनुसार प्रविधिको प्रयोग गरेर राजनीतिक नेतृत्वको चरित्र हत्या गर्ने र सामाजिक सञ्जालमा भ्रमपूर्ण सामग्री फैलाउने प्रवृत्ति नियन्त्रण गर्न सम्बन्धित निकाय थप संवेदनशील र सक्रिय हुन आवश्यक छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया