रुपन्देही । जनता समाजवादी पार्टी नेपालको विवाद अब जिल्ला स्तरमा पुगेको छ । आइतबार नवलपरासीमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहभागी कार्यक्रममा लोसपाबाट समाहित भएका जिल्ला अध्यक्ष मुकुर गिरीसहितका नेता कार्यकर्ताले यादवविरुव नाराबाजी गर्दै बहिस्कार गरेका छन् ।
अध्यक्ष यादवले सम्बोधन गरेपछि सो कार्यक्रमको अध्यक्षता गरिरहेका जसपा जिल्ला अध्यक्ष मुकुर गिरीले उनको भनाइको कडा आलोचना गरेपछि बीचैमा उपेन्द्रले रोकेका थिए ।
गिरीले अध्यक्ष यादवको मन्तव्यप्रति असन्तुष्टि जनाउँदै मधेश आन्दोलनदेखि भएका सबै आन्दोलन आफूले मात्र गरेको जस्तो अभिव्यक्ति दिएर अन्य नेता कार्यकर्ताको मानमर्दन गर्न नहुने बताएको र हालै गठन भएको २ सय ७९ सदस्यीय केन्द्रीय समितिमा मधेश प्रदेशका आठ जिल्लाबाट २ सय ११ भन्दा बढी सदस्य राखिएको तर १२ जिल्ला रहेको लुम्बिनी प्रदेशबाट १८ जनालाई मात्र समेटेर पक्षपात गरेको भन्दै आक्रोश व्यक्त गरेपछि उपेन्द्र रिसाएका हुन् ।
गिरीले अध्यक्ष यादवले लुम्बिनी प्रदेशलाई सधैँ ‘गुलाम’को व्यवहार गर्ने गरेको आरोपसमेत लगाएका थिए । उनको अभिव्यक्तिपछि अध्यक्ष यादव आक्रोशित हुँदै जथाभावी नबोल्न चेतावनी दिएपछि यस्तो भएको गिरीले बताउँछन् ।
गिरीले प्रदेशलाई जानकारी नदिई लुम्बिनी प्रदेशका चार सांसदलाई आफूखुसी कारबाही गरेको भन्दै आक्रोश पोखेका थिए । ‘यहाँ पार्टीको प्रदेश कमिटी छ । संसदीय दल छ । यहाँको अवस्थाबारे माथि स्वार्थ नमिलेका आधारमा कारबाही गर्ने ? यस्तो पनि हुन्छ । मैले यति भनेपनि मलाई रोक्न खोजियो । हामी बहिस्कार गरेर हिड्यौं’, उनले भने ।
पार्टीको नीतिविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको आरोपमा जसपाले सांसदहरु सन्तोषकुमार पाण्डे, हेमा बेल्वासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई जसपाले शुक्रबार पार्टीबाट निष्काशन गरेको थियो ।
गिरीले अध्यक्ष यादवले लुम्बिनी प्रदेशलाई उपनिवेशको रुपमा व्यवहार गरेको आरोप लगाएका छन् । ‘उपेन्द्रजीले लुम्बिनी प्रदेशलाई उपनिवेश सम्झनु भएको छ । आफूखुसी गर्न पाउनुहुन्न भन्दा उपेन्द्रजीले यो बोल्न पाउनु हुन्न भन्नै प्रतिवाद गर्न आउनुभयो । त्यसपछि तत्कालीन लोसपाका ३०–४० जना नेता कार्यकर्ताले कार्यक्रम बहिष्कार गरेर हिड्यौं’, गिरीले भने ।
लुम्बिनी प्रदेशका चार सांसदलाई पार्टीबाट निष्कासन गरेपछि लुम्बिनी प्रदेशका तत्कालीन लोसपाका नेता र कार्यकर्ताबीच असन्तुष्टि थप चुलिएको छ ।
यसबारे उपेन्द्र यादव निकट साविक जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले कार्यक्रमको अध्यक्ष गरेका गिरीलाई व्यक्तिगत कुरा नगर्न र पार्टीको नीति अनुसार अघि बढ्न भनेको बताएका छन् ।
‘त्यो धेरै ठूलो कुरा थिएन, गिरीजीले समापनका समयमा अरु पार्टीको पक्षमा बोल्नुभएको थियो, उपेन्द्रजीले जसपा नेपालमा बसेपछि अरु पार्टीको पक्षमा कुरा नगर्न र पार्टीको नीति र नियममा रहन सम्झाउनुभएको हो, यसलाई विवाद वा बहिस्कार केही होइन, सामान्य कुरा हो’, उनले भने ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया