विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको कोशी प्रदेश पदाधिकारी र सचिवालय सदस्यको बैठकले २०८४ सालमा हुने प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्ने निर्णय गरेको छ ।
यो निर्णयसँगै सो पार्टीले पार्टी अध्यक्ष हर्क साम्पाङलाई २०८७ सालको निर्वाचनमा प्रधानमन्त्री बन्ने गरी पार्टीको संगठन निर्माण गर्ने निर्णय पनि गरेको छ ।
२०८२ सालको निर्वाचनमा कोशी प्रदेशमा परम्परागत शक्तिहरूलाई पछार्दै उदाएको श्रम संस्कृति पार्टीले अब प्रदेशमा एकछत्र विजय हात पार्ने रणनीतिक तयारी सुरु गरेको हो । पार्टीको शनिबार सुनसरीको धरानमा सम्पन्न बैठकले आगामी निर्वाचनमा प्रदेशमा बहुमतको सरकार बनाउने लक्ष्यका साथ अन्य राजनीतिक दलबाट आउने नेताहरूका लागि ढोका खुला गरेको छ ।
उक्त पार्टीले पारित गरेको निर्णयको ६ नम्बर बुँदामा उल्लेख भए अनुसार अन्य दल परित्याग गरी श्रम संस्कृति पार्टीमा आबद्ध हुन चाहनेहरूलाई उनीहरूले साविकको पार्टीमा जुन मर्यादा वा स्थान पाएका थिए, सोही बमोजिमको जिम्मेवारी प्रदान गरिने उल्लेख छ । ‘इतर पार्टीबाट श्रम संस्कृति पार्टीमा हातेमालो तथा प्रवेश हुन चाहनेहरूलाई तत्तत् पार्टीमा जुन स्थान हो सोही बमोजिमको स्थान प्रदान गरिने, जनप्रतिनिधिका लागि भने निजको चालचलन, आचरण बुझी अगाडि बढाइनेछ,’ सो पार्टीको निर्णयमा उल्लेख छ ।
पुराना दलहरूप्रति जनताको वितृष्णा बढिरहेको बेला अन्य दलका इमानदार कार्यकर्तालाई आफ्नो कित्तामा ल्याएर संगठन मजबुत बनाउने श्रम संस्कृतिको यो रणनीतिक चाल मानिएको छ । २०८२ सालको निर्वाचन परिणामबाट हौसिएको पार्टीले अब कोशी प्रदेशका सबै १३७ वटा स्थानीय तहमा आफ्नो पकड बलियो बनाउने निर्णय गरेको छ ।
बैठकले प्रदेशका ११५७ वडा, ८८ गाउँपालिका, ४६ नगरपालिका, २ उपमहानगरपालिका र १ महानगरपालिका गरी १३७ वटै स्थानीय पालिकामा पार्टीको संरचना विस्तार गर्ने र आगामी प्रदेश निर्वाचनमा बहुमतको सरकार गठन गर्ने अठोट गरेको छ । ‘१ नम्बर प्रदेशमा बहुमतको सरकार गठन गर्ने रणनीतिको साथ पार्टी अघि बढाउने निर्णय गरियो,’ सो पार्टीका प्रदेश अध्यक्ष प्रताप राईले भने ।
यो लक्ष्य प्राप्तिका लागि पार्टीले आगामी असोज महिनादेखि विशेष अभियान सुरु गर्ने राईले बताए । विस्तार तथा हातेमालो नाम दिइएको यो कार्यक्रम झापाको सबैभन्दा होचो भूभाग केचनादेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म सञ्चालन गरिने छ । ‘यसले तराई, पहाड र हिमालका मतदातालाई श्रमको एउटै सूत्रमा बाँध्ने अपेक्षा छ,’ अध्यक्ष राईले भने, ‘हामीले यही अभियानका क्रममा अरू पार्टीका इमानदार नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँछौँ ।’
श्रम संस्कृति पार्टीको यो आत्मविश्वासको मुख्य आधार २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम हो । उक्त निर्वाचनले कोशी प्रदेशको राजनीतिमा ठुलो उथलपुथल ल्याएको थियो । निर्वाचनको तथ्याङ्क अनुसार अघिल्लो निर्वाचनको पहिलो शक्ति नेकपा एमाले र दोस्रो शक्ति नेपाली कांग्रेस नराम्ररी पछारिएका छन् ।
कोशी प्रदेशको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ८ लाख ५३ हजार १८३ मतसहित पहिलो स्थानमा रहँदा श्रम संस्कृति पार्टी २ लाख ९२ हजार ४९ मतका साथ दोस्रो शक्ति बन्न सफल भयो । यो नयाँ दलका लागि ऐतिहासिक उपलब्धि हो ।
तुलनात्मक रूपमा हेर्दा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ६ लाख ६५ हजार ४६० मत ल्याएको एमाले यसपटक २ लाख ८८ हजार १८६ मतमा सीमित हुँदै चौथो स्थानमा पुगेको छ । त्यस्तै, अघिल्लो पटक ५ लाख ६२ हजारभन्दा बढी मत ल्याएको कांग्रेस २ लाख ९० हजार ५६२ मतसहित तेस्रो स्थानमा खुम्चिएको छ । राप्रपा र नेकपाको अवस्था पनि निकै खस्किएको छ । राप्रपा ६२ हजार ८२९ मतसहित छैटौं स्थानमा पुग्दा माओवादी र एकीकृत समाजवादी सम्मिलित नेकपाले जम्मा ९७ हजार ६७९ मतसहित पाँचौं स्थान ल्याएको छ ।
श्रम संस्कृति पार्टीको प्रदेश सचिवालय बैठकले आगामी २०८७ सालको संघीय निर्वाचनमा बहुमत हासिल गरे पार्टीका अध्यक्ष साम्पाङलाई देशको कार्यकारी प्रधानमन्त्री बनाउने निर्णय पनि गरेको छ । धरानमा खानेपानी र श्रम संस्कृतिको लहर चलाएर चर्चामा आएका साम्पाङलाई प्रधानमन्त्रीको रूपमा अघि सार्दा देशव्यापी रूपमा जनलहर सिर्जना हुने पार्टीको विश्वास छ ।
राजनीतिक समन्वयका लागि पार्टीले १५ सदस्यीय अन्तर पार्टी संवाद समितिसमेत गठन गरेको छ । यस समितिले अन्य साना र समान विचारधारा भएका दलहरूसँग सहकार्यकोलागि छलफल अगाडि बढाउने अध्यक्ष राईले बताए । राजनीतिक निर्णयका अतिरिक्त बैठकले भोटेकोशी बाढीबाट प्रभावित बाढी पीडितहरूका लागि आर्थिक, भौतिक र नैतिक सहयोग जुटाउन निर्देशन दिइएको छ । पार्टीका प्रचार प्रसार विभाग प्रमुख नयन्द्र चाम्लिङले अबको राजनीति केवल कुरामा होइन, श्रम र उत्पादनमा केन्द्रित हुने बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया