भाद्र २६, २०८३ शुक्रबार September 11, 2026

जोडियो रसुवाको ‘लाइफलाइन’

हिमबाढीले सडकसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सडक सम्पर्क पुनः जोडिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

देवीघाट (नुवाकोट), भदौ २६ गते । भोटेकोशीको हिमबाढीले सडकसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सडक सम्पर्क पुनः जोडिएको छ । बाढीले तहसनहस बनाएको सडक सञ्जालमा तादी खोलाले थपेको अवरोध हटाउँदै नेपाली सेनाले ७२ घण्टाको ‘रनिङ टाइम’मा बेलिब्रिज निर्माण गरेर रसुवाको ‘लाइफलाइन’ पुनः सञ्चालनमा ल्याएको हो ।

तादी खोलामाथि पुल बनेपछि गल्छीदेखि देवीघाट–त्रिशूली हुँदै मैलुङ, स्याफ्रुबेँसी र रसुवागढीसम्मको सडक सम्पर्क पुनस्र्थापित भएको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण हिमबाढीले रसुवातर्फ जाने सडक र पुलमा क्षति पु¥याएपछि उत्तरी रसुवाको बाहिरी जिल्लासँगको स्थल सम्पर्क प्रभावित भएको थियो ।

सडक सम्पर्क टुट्दा स्थानीयवासीको आवागमन नै ठप्प भएको थियो । तादी खोलामाथि पुल निर्माण भएपछि रसुवातर्फको आवागमन र राहत तथा पुनस्र्थापनाको कामलाई ठुलो राहत पुगेको छ ।

नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको नं. १४ बाहिनी अड्डाको इन्जिनियरिङ टोलीले सडक विभाग तथा स्थानीय तहसँगको समन्वयमा तादी खोलामा ५७.९ मिटर लामो र ५.५ मिटर चौडा

‘एक्रो ब्रिज’ निर्माण गरेको हो । कुल ६० टन भारवहन क्षमता रहेको पुल बिहीबारदेखि सवारीसाधनका लागि सञ्चालनमा आएको छ ।

सेनाले भदौ २० गतेबाट उक्त पुल निर्माण कार्य सुरु गरी ७२ घण्टामै तयार गरी स्थानीय तह र आयोजनालाई पुल हस्तान्तरणसमेत गरेको छ । निर्माण सम्पन्न उक्त पुल सडक आयोजना र विदुर नगरपालिकालाई संयुक्त रूपमा हस्तान्तरण गर्दै उपरथी रन्जित थापाले विपत्को अवस्थामा छोटो समयमै महत्वपूर्ण संरचना निर्माण गर्न सक्नु सेनाको पूर्वतयारी र प्राविधिक क्षमताको परिणाम भएको बताउनुभयो ।

“हामीले भदौ २० गतेदेखि निर्माण कार्य सुरु गरेका थियौँ । सामग्री ढुवानीको समयसमेत जोड्दा पाँच दिन लागेको भए पनि पुल निर्माणको वास्तविक ‘रनिङ टाइम’ ७२ घण्टा मात्र हो,” उहाँले भन्नुभयो । पुल निर्माणमा नेपाली सेनाको ५५ सदस्यीय इन्जिनियरिङ टोली अहोरात्र खटिएको थियो । खोलाको बहाब, मौसम र भौगोलिक अवस्थालाई ध्यानमा राख्दै टोलीले निरन्तर काम गरेपछि तोकिएको समयभन्दा निकै कम अवधिमा पुल निर्माण सम्पन्न भएको हो ।

सेनाले विपत्का बेला तत्काल प्रयोग गर्न सकिने गरी देशका विभिन्न रणनीतिक स्थानमा बेलिब्रिज निर्माणका सामग्री भण्डारण गरेर राखेका कारण छिटो पुनस्र्थापना सम्भव भएको हो । नेपाली सेनाको नं. १४ बाहिनीका बाहिनीपति सहायकरथी जगदीश खड्काका अनुसार सेनाले देशका विभिन्न रणनीतिक स्थानमा पुल निर्माणका सामग्री ‘स्टक’ राखेको छ । तादी खोलाको पुल निर्माणका लागि गजुरीमा भण्डारण गरिएको सामग्री तत्काल निर्माणस्थलमा ल्याइएको थियो । उहाँले भन्नुभयो, “नेपाली सेना नेपाल र नेपालीमाथि आइपर्ने कुनै पनि विपत्मा अग्रपङ्क्तिमा उभिएर प्रतिकार्य गर्न कटिबद्ध छ । नागरिकको अपेक्षा र सेनाप्रतिको भरोसालाई आत्मसात् गर्दै अहोरात्र खटिएर पुल निर्माण गरेका हौँ ।”

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पुल निर्माणका लागि आवश्यक पार्टपुर्जा, मेसिन तथा स्थानीय सामग्री व्यवस्थापन गरी नेपाली सेनाले निकै छिटो निर्माण सम्पन्न गरी प्रभावित क्षेत्रमा पहुँच पु¥याएर अतुलनीय योगदान गरेको बताउनुभयो ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख कृष्णनाथ ओझाले बाढीपछि सडक सम्पर्क पुनस्र्थापनाका लागि विभिन्न निकायबिचको समन्वय महत्वपूर्ण भएको बताउनुभयो ।

पुल सञ्चालनमा आएसँगै गल्छीदेखि देवीघाट हुँदै त्रिशूलीसम्मको करिब २६ किलोमिटर सडक सम्पर्क थप सहज भएको छ । यसले गल्छीतर्फ जाने तथा गल्छीबाट देवीघाट–त्रिशूली हुँदै माथिल्लो क्षेत्रतर्फ जाने सवारीसाधनलाई सहज बनाएको छ ।

बाढीपछि तत्कालीन प्राथमिकता उद्धारमा राखेको सेनाले प्रभावित क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने अनेक चुनौतीको सामना गर्दै सडक र पुल जस्ता पहुँच संरचनाको पुनस्र्थापनामा प्राथमिकता दिएको छ ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै सडक, पुल र अन्य पहुँच संरचना पुनस्र्थापनालाई पनि प्राथमिकतामा दिने क्रममा तादी खोलामा ७२ घण्टामै पुल निर्माण भएको देख्दा स्थानीय बासिन्दा निकै हर्षित हुँदै सेनाको उक्त कामको निकै प्रशंसा गरेका छन् । बाढीले बगाएको पुल तयार भई पुनः गाडी गुड्न थालेको देख्दा आफू निकै हर्षित भएको स्थानीय रामबहादुर तामाङले बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया