काठमाडौं । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले देशका विभिन्न क्षेत्रमा भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेकाले विद्यालय तथा शैक्षिक संस्थाको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन आग्रह गरेको छ।
मन्त्रालयले असोज ८ र ९ गते विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको छ।
मन्त्रालयका अनुसार जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विज्ञ संस्थाहरूबाट प्राप्त पूर्वानुमानअनुसार उक्त अवधिमा बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोधको जोखिम रहेको छ।
त्यसैगरी, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकहरूले बालबालिकालाई नदी, खोला, पोखरी र पहिरोको जोखिम भएका स्थानमा जान नदिन आग्रह गरेको छ।
मन्त्रालयले सबै शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई विपद्को जोखिमलाई ध्यानमा राखी आवश्यक समन्वय र सहजीकरण गर्न अनुरोध गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया