असोज १२, २०८३ सोमबार September 28, 2026

शंकित व्यक्तिको पोलिग्राफ परीक्षण गर्न अख्तियारलाई कानुनी आधार

संशोधित नियमावलीमा पोलिग्राफ परीक्षणबाट प्राप्त प्रतिवेदनलाई प्रमाणका रूपमा ग्राह्य हुने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । भ्रष्टाचारसम्बन्धी कसुरको अनुसन्धानका क्रममा शंकित व्यक्तिको पोलिग्राफ परीक्षण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कानुनी बाटो खुलेको छ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ संशोधन गर्दै भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा आवश्यक देखिए पोलिग्राफ परीक्षण गर्न सकिने व्यवस्था गरेपछि आयोगलाई यस्तो सुविधा प्राप्त भएको हो ।

मन्त्रिपरिषद्बाट स्वीकृत संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशित भएसँगै अख्तियारलाई अनुसन्धानका क्रममा पोलिग्राफ परीक्षण गर्न औपचारिक कानुनी आधारसमेत प्राप्त भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पाँचौँ संशोधन नियमावली, २०८३ मा पोलिग्राफ परीक्षणसम्बन्धी व्यवस्था समावेश गरिएको हो ।

संशोधित नियमावलीले अनुसन्धानका क्रममा विवादास्पद सबुद प्रमाण तथा शंकित व्यक्तिको परीक्षण गर्न सकिने व्यवस्था गरेको छ । नियमावलीको नियम १२ मा खण्ड ‘ख’ थप गरी भ्रष्टाचारसम्बन्धी कसुरको अनुसन्धानका क्रममा संकलन भएका नमुना, विवादास्पद कागजपत्र, डिजिटल सबुद प्रमाण लगायतको वैज्ञानिक परीक्षण गर्न सकिने व्यवस्था गरिएको छ ।

नियमावलीको उपनियम (१) मा भ्रष्टाचारसम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा संकलित नमुना, विवादास्पद कागज वा डिजिटल सबुद प्रमाण आयोगको फरेन्सिक इकाई वा प्रचलित कानुनबमोजिम स्थापित अन्य प्रयोगशालामा परीक्षण गर्न सकिने उल्लेख छ ।

यसैगरी, उपनियम (२) मा शंकित व्यक्तिको पोलिग्राफ परीक्षणसम्बन्धी व्यवस्था गरिएको छ । उक्त व्यवस्थाअनुसार भ्रष्टाचारसम्बन्धी कसुरको शंकित व्यक्तिको पोलिग्राफ परीक्षण गर्न आवश्यक भएमा उपनियम (१) बमोजिमको फरेन्सिक इकाई वा प्रयोगशालामा परीक्षण गर्न सकिनेछ ।

संशोधित नियमावलीमा पोलिग्राफ परीक्षणबाट प्राप्त प्रतिवेदनलाई प्रमाणका रूपमा ग्राह्य हुने व्यवस्था पनि गरिएको छ । यससँगै भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा शंकित व्यक्तिले दिएको बयान तथा अनुसन्धानका क्रममा प्राप्त अन्य प्रमाणसँगै वैज्ञानिक परीक्षणबाट प्राप्त प्रतिवेदनलाई समेत अनुसन्धान प्रक्रियामा उपयोग गर्न सकिने भएको छ ।

अनुसन्धानलाई वैज्ञानिक बनाउन खोज

पोलिग्राफ परीक्षणलाई अनुसन्धानका क्रममा व्यक्तिको शारीरिक प्रतिक्रियाका आधारमा केही प्रश्नको जवाफसँग सम्बन्धित संकेत पहिचान गर्ने प्रविधिका रूपमा प्रयोग गरिन्छ । यसले व्यक्तिले बोलेको कुरा सत्य वा असत्य भएको प्रत्यक्ष प्रमाणित गर्नेभन्दा पनि अनुसन्धानकर्तालाई थप अनुसन्धान आवश्यक पर्ने विषय पहिचान गर्न सहयोग गर्ने उद्देश्य राख्छ ।

अख्तियारले भ्रष्टाचारसम्बन्धी उजुरी तथा मुद्दाको अनुसन्धान गर्दा कागजात, बैंकिङ कारोबार, डिजिटल सामग्री, बयान तथा अन्य प्रमाण संकलन गर्दै आएको छ । अब आवश्यक देखिएमा शंकित व्यक्तिको पोलिग्राफ परीक्षणसमेत अनुसन्धानको एउटा उपकरणका रूपमा प्रयोग गर्न सक्नेछ ।

नियमावली संशोधनसँगै आयोगको अनुसन्धान प्रक्रियामा फरेन्सिक परीक्षणको दायरा विस्तार भएको छ । विशेषगरी कागजातको वास्तविकता, डिजिटल प्रमाण तथा अनुसन्धानका क्रममा विवादमा आएका सामग्रीको परीक्षणसँगै शंकित व्यक्तिको पोलिग्राफ परीक्षणले अनुसन्धानमा थप प्राविधिक आधार उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

फरेन्सिक प्रमाणमा जोड

पछिल्लो समय भ्रष्टाचारका प्रकृति र स्वरूपमा समेत परिवर्तन हुँदै गएको अवस्थामा अनुसन्धानमा परम्परागत बयान र कागजी प्रमाणसँगै डिजिटल तथा वैज्ञानिक प्रमाणको प्रयोग बढाउनुपर्ने आवश्यकता देखिँदै आएको छ । सरकारी निकायका काम कारबाहीमा डिजिटल प्रणालीको प्रयोग बढेसँगै भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा मोबाइल, कम्प्युटर, विद्युतीय कागजात तथा अन्य डिजिटल सामग्रीसमेत महत्त्वपूर्ण प्रमाण बन्न थालेका छन् ।

नयाँ व्यवस्थाले यस्ता सामग्रीको परीक्षणका लागि आयोगको फरेन्सिक इकाई वा कानुनबमोजिम स्थापित प्रयोगशालाको प्रयोग गर्न सकिने स्पष्ट गरेको छ । यसबाट अनुसन्धानका क्रममा विवादमा आएका कागजात तथा डिजिटल सबुद प्रमाणको वैज्ञानिक परीक्षण गरी त्यसबाट प्राप्त निष्कर्षलाई अनुसन्धानमा समेट्न सहज हुने देखिन्छ ।

त्यस्तै, कुनै भ्रष्टाचारसम्बन्धी कसुरमा व्यक्ति शंकित भए पनि उपलब्ध प्रमाणबाट अनुसन्धानको निश्चित निष्कर्षमा पुग्न कठिन भएको अवस्थामा आवश्यक ठानेर पोलिग्राफ परीक्षण गर्न सकिने व्यवस्था गरिएको छ । तर, परीक्षण आवश्यक छ वा छैन भन्ने विषय अनुसन्धानको आवश्यकता र उपलब्ध प्रमाणका आधारमा तय हुने व्यवस्था छ ।

प्रमाणको रूपमा प्रतिवेदन

पोलिग्राफ परीक्षणपछि तयार हुने प्रतिवेदनलाई प्रमाणका रूपमा ग्राह्य हुने व्यवस्था संशोधित नियमावलीमा राखिएको छ । यसले पोलिग्राफ परीक्षणलाई अख्तियारको अनुसन्धान प्रक्रियामा औपचारिक स्थान दिएको छ ।

यद्यपि कुनै व्यक्ति शंकित हुनु मात्र उसको कसुर प्रमाणित हुनु होइन । पोलिग्राफ परीक्षणबाट प्राप्त प्रतिवेदनसहित अनुसन्धानका क्रममा संकलित अन्य प्रमाणका आधारमा मात्रै अनुसन्धानको निष्कर्षमा पुग्ने कानुनी प्रक्रिया रहन्छ । नयाँ व्यवस्थाले भने अनुसन्धानका क्रममा आवश्यक पर्ने वैज्ञानिक र प्राविधिक परीक्षणका लागि अख्तियारको अधिकार क्षेत्रलाई थप स्पष्ट बनाएको छ ।

अख्तियारले भ्रष्टाचारसम्बन्धी उजुरीमाथि प्रारम्भिक अनुसन्धानदेखि विस्तृत अनुसन्धानसम्म विभिन्न चरणमा प्रमाण संकलन गर्दै आएको छ । अब संशोधित नियमावलीअनुसार विवादास्पद कागजपत्र, डिजिटल सबुद प्रमाण तथा आवश्यक परे शंकित व्यक्तिको पोलिग्राफ परीक्षणसमेत अनुसन्धानको दायरामा समेटिने भएको छ ।

यससँगै भ्रष्टाचारसम्बन्धी कसुरको अनुसन्धानलाई थप वैज्ञानिक, प्राविधिक र प्रमाणमा आधारित बनाउने उद्देश्यले अख्तियारको अनुसन्धान प्रणालीमा नयाँ अभ्यास थपिएको छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असोज १२, सोमबार