असोज २२, २०८३ बिहिबार October 8, 2026

नेता छान्दै प्रतिनिधि

राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पाँचौ दिन आज बिहीबार नयाँ नेतृत्व चुन्न मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ। महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्।

सभपातिमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन्।सभापतिमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले मनोनयनपत्र फिर्ता लिएका छन्। खडगीलाई पनि मनोनयनपत्र फिर्ता लिन लगाएर सभापतिमा थापालाई सर्वसम्मत बनाउने प्रयास बुधबार दिनभर भए पनि सफल भएन।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपभातिमा पुष्पा भुसाल निर्विरोध भएका छन्। मिनेन्द्र रिजाल र देवराज चालिसेले उपसभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। एक महिलासहित चारजना उपसभापतिका लागि १३ जनाबिच प्रतिस्पर्धा हुनेछ। एक महिलासहित तीन महामन्त्रीका लागि ११ जनाले प्रतिस्पर्धा गर्दैछन्।

केन्द्रीय समिति २५ पदाधिकारीसहित २९७ सदस्यीय हुने छ।  २५ पदाधिकारीमा एक सभापति, एक वरिष्ठ उपसभापति, कम्तीमा एक महिलासहित चार उपसभापति, कम्तीमा एक महिलासहित तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ। १५ सहमहामन्त्रीमध्ये समावेशी क्लस्टरबाट नौ जना चुनिने छन् भने दुई जना खुला प्रतिस्पर्धाबाट आउने छन्।

एक महिलासहित चार सहमहामन्त्री भने सभापतिबाट मनोनीत हुने छन्। एक कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुने छन्। केन्द्रीय समितिमा एक प्रवक्ता र एक सहप्रवक्ता रहने व्यवस्था पनि गरिएको छ। २११ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला गरी १० बजेबाट सुरू गर्न लागिएको बताए। उनका अनुसार तीन स्थानमा मतदान गर्ने व्यवस्था गरिएको छ। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ।

राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। खुलामञ्चमा कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन्। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिलाई पनि खुलामञ्चमै मतदानको व्यवस्था गरिएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ। कांग्रेसको संशोधित विधान सोमबार बन्दसत्रबाट पास भएको छ।  नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया