सिड्नी। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका प्रिमियर माननीय क्रिस्टोफर (क्रिस) जोन मिन्सले परराष्ट्रमन्त्री शिशिर खनालसँग आज सिड्नीमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा प्रिमियर मिन्सले नेपालमा हालै आएको प्राकृतिक विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे। उनले विपद्पछिको पुनर्लाभ तथा पुनरोत्थानका प्रयासहरूमा नेपाललाई आवश्यक सहयोग गर्न न्यु साउथ वेल्स सरकार पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
परराष्ट्रमन्त्री खनालले विनाशकारी बाढीपछि सहानुभूति, ऐक्यबद्धता र उदार सहयोग पुर्याएकोमा नेपाली समुदाय (डाइस्पोरा) लगायत न्यु साउथ वेल्सका जनताप्रति हार्दिक आभार व्यक्त गरे।
साथै, उनले विपद्मा परी बेपत्ता भएका अस्ट्रेलियाली नागरिकहरूको खोजी कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको आश्वस्त पारे।
भेटमा मन्त्री खनाल र प्रिमियर मिन्सबिच नेपाल र न्यु साउथ वेल्सबिचको व्यापार, ऊर्जा, खानी, पूर्वाधार विकास, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका साथै उच्च शिक्षा अध्ययन संस्थानहरूबिचको सहकार्य र द्विपक्षीय हितका विविध विषयमा विचार-विमर्श भएको थियो। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया