असोज २६, २०८३ सोमबार October 12, 2026

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

बूढीगण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि पर्यटक अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गोरखा । भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन् । आइतबार गएको बूढीगण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि पर्यटक अलपत्र परेका हुन् ।

हिँडडुल गर्न तथा गन्तव्यतर्फ जान नपाएपछि पर्यटक त्रासमा रहेका स्थानीय होटल व्यवसायी उपसमितिका संयोजक गणेश कार्कीले बताए । कतिपयलाई आज बिहानैदेखि नेपाली सेनाको ठूलो हेलिकप्टरले उद्धार गरिरहेको उनले जानकारी दिए ।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार चुम उपत्यकामा अहिले ८० भन्दा बढी पर्यटक छन् । कतै पनि जान नपाएपछि पर्यटकहरू आत्तिएका छेकम्पारका होटल व्यवसायी दोर्जे लामाले बताए । “कतै हिँडडुल गर्न पाएका छैनन् । कसैको भिसा सकिन लाग्यो भनेर आत्तिएका छन् । कोही नाकाबन्दी भयो भनेर आत्तिएका छन्”, उनले भने ।

यो परिस्थितिमा पर्यटकलाई उद्धार गर्न हेलिकप्टरले उडान अनुमति लिइरहनु नपर्ने निर्णय सरकारले गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए । “पर्यटकहरूलाई इमर्जेन्सी भए उनीहरूकै कम्पनीले उद्धार गर्न सक्छ । नत्र सरकारले आफ्नै कार्यसूचीअनुसार उद्धार गर्छ”, उनले भने । अहिले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेकाहरूको उद्धार कार्यलाई प्राथमिकता दिइएको उनको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया