असोज २६, २०८३ सोमबार October 12, 2026

ओलीको चेतावनी : ‘बलजफ्ती र दमन भए प्रतिवादमा उत्रिन्छौँ’

आगामी दिनमा आउने चुनौतीहरूको डटेर सामना गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथिको घेराबन्दी अझै नसकिएको बताएका छन्। उनले ठूला र बलिया पक्षहरूले बलजफ्ती गरेमा त्यसको कडा प्रतिवाद गर्नुपर्ने बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी दिनमा आउने चुनौतीहरूको डटेर सामना गर्नुपर्नेमा जोड दिए।

‘लोकतन्त्र मासिएको छ र स्वाधीनता तथा स्वतन्त्रतालाई कमजोर बनाइएको छ। यी कुराको पुनःप्राप्ति गर्नु अहिलेको अनिवार्य सर्त हो,’ उनले भने, ‘हामी यसको पुनःप्राप्तिका लागि प्रतिबद्ध छौँ। यदि फेरि पनि बलजफ्ती र दमन गरिन्छ भने त्यसलाई अस्वीकार गरेर हामी प्रतिवादमा उत्रिनेछौँ, जुन हामीले विगतमा पनि गरेका थियौँ र अहिले पनि गर्नुपर्ने हुन्छ।’

उनले शान्तिको पक्षमा समाज उभिनुपर्ने बताउँदै निहत्था जनतामाथि हतियार र संगठित बल प्रयोग गरेर दबाइन्छ भने त्यस्तो अवस्थामा चुप लागेर बस्न नहुने स्पष्ट पारे।

‘आगो लगाउनु वा लुटपाट गर्नु आन्दोलन होइन। आन्दोलन भनेको ठूलो र बलियोले कमजोरमाथि गर्ने बलजफ्तीको प्रतिवाद गर्नु हो,’ ओलीले भने।

साथै, उनले आगामी निर्वाचनमा पनि पार्टीविरुद्ध विभिन्न किसिमका घेराबन्दी जारी रहने बताए। विगतका वर्षहरूमा पनि एमालेविरुद्ध चौतर्फी घेराबन्दी गरिएको प्रसङ्ग उल्लेख गर्दै उनले जुनसुकै परिस्थिति आए पनि पार्टी दृढताका साथ अगाडि बढ्ने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया