काठमाडौं। सरकारले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा विद्यालयलाई प्राथमिकतामा राखेर योजना अघि बढाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा ती विद्यालयको पूर्वाधार विकासका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि पाँच अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको मन्त्री पोखरेलले जानकारी दिनुभएको छ। निकासा भएको रकमबाट ती विद्यालयमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ।
प्रतिविद्यालय करिब छ करोड रुपैयाँ लागतमा निर्माण हुने भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। यसबाट विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित सिकाइ वातावरण तयार हुने मन्त्री पोखरेलले बताउनुभएको छ।
उहाँले कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढिरहेको र केही विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको उल्लेख गर्दै विद्यालयबीचको असमानता हटाउन पूर्वाधार सुधारको काम अघि बढाइएको बताउनुभयो।
आगामी दिनमा देशभरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पोखरेलले सामुदायिक शिक्षाको सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थी सबैलाई सहकार्य गर्न आह्वान गर्नुभएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया