काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालय सञ्चालनका लागि स्थायी रूपमा घर तथा जग्गा खरिद गर्नका लागि औपचारिक रूपमा प्रस्ताव आह्वान गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौँबाट मिति २०८३ असोज २८ गते सूचना जारी गर्दै तोकिएको मापदण्ड पूरा गर्ने इच्छुक घर वा जग्गाधनीहरूबाट २१ दिनभित्र प्रस्ताव पेस गर्न अनुरोध गरिएको हो।
पार्टी केन्द्रीय समितिको मिति २०८३ असोज १७ गतेको निर्णय बमोजिम आवतजावत गर्न सजिलो, प्रशासनिक काम तथा ठूला बैठक सञ्चालन गर्न उपयुक्त संरचना भएको घर तथा जग्गा खरिद गर्न यो प्रक्रिया अघि बढाइएको हो।
यसका लागि काठमाडौं उपत्यकाभित्र चक्रपथसँग जोडिएको वा चक्रपथ नजिक रहेको कम्तीमा ३ रोपनी क्षेत्रफल भएको घर वा खाली जग्गा हुनुपर्नेछ।
साथै मुख्य सडकसम्म पुग्ने कम्तीमा २० फिट चौडा पक्की बाटो भएको, कार र मोटरसाइकल पार्क गर्न पुग्ने खाली ठाउँ उपलब्ध भएको तथा कानुनी रूपमा विवादरहित, बैंकमा रोका नरहेको वा खरिद-बिक्रीमा कुनै बाधा नभएको स्पष्ट स्वामित्व हुनुपर्ने मापदण्ड तोकिएको छ।
इच्छुक जग्गाधनीहरूले प्रस्तावका साथमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि (संस्था भए दर्ता र कर चुक्ता प्रमाणपत्र), नापी नक्सा र चारकिल्ला प्रमाणित पत्र, चालु आर्थिक वर्षको भूमि कर तिरेको रसिद, घर भए नगरपालिकाबाट नक्सा पास तथा निर्माण सम्पन्न प्रमाणपत्र, स्पष्ट तस्बिरहरू र प्रति आना/रोपनी दर वा एकमुस्ट रकम खुलाएको प्रस्ताव फाराम संलग्न गर्नुपर्नेछ।
प्रस्ताव पेस गर्दा रकम अंक र अक्षर दुवैमा स्पष्ट लेखी बन्द खामबाहिर ‘घर/जग्गा खरिद प्रस्ताव’ र आफ्नो नाम, ठेगाना तथा सम्पर्क नम्बर उल्लेख गरी कार्यालय समयभित्र पार्टीको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ। म्याद नाघेर आएका प्रस्तावहरूमाथि कुनै कारबाही नहुने पनि पार्टीले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया