असोज ३०, २०८३ शुक्रबार October 16, 2026

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

सबैभन्दा बढी कोशी प्रदेशका ५७ वटा स्थानीय तहमा गरी एक हजार ६४ किलोमिटर पक्की सडक पुर्‍याउन बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज ३० गते । आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोडिने भएको छ । स्थानीय तहको केन्द्रदेखि सात वटै प्रदेश राजधानीसम्म सवारी आवागमनलाई सहज बनाउन र सङ्घीय व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जालले जोड्ने योजना सरकारले कार्यान्वयन गर्न लागिएको हो ।

प्रादेशिक सडक सञ्जाल सुधार गर्दै सडक सञ्जालले नजोडिएका स्थानीय तहको केन्द्रमा आधारभूत सर्वयाम सडक पहुँच पुर्‍याउने उद्देश्यले सरकारले पाँच वर्षभित्र स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल जोड्ने कार्यलाई उच्च प्राथमिकता दिइएको छ ।

स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल पुर्‍याउन विश्व बैङ्कको ऋण सहयोगमा वैदेशिक सहायता र सङ्घ सरकारको समन्वयमा परिचालित भई प्रदेश सरकारबाट कार्यक्रम कार्यान्वयन गरिने स्थानीय पूर्वाधार विकास विभागले जनाएको छ ।

विभागका महानिर्देशक अशोककुमार शाहले पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जालले जोड्ने योजना रहेको बताउँदै भन्नुभयो, “पक्की सडक सञ्जाल निर्माणको कार्यलाई सरकारले उच्च प्राथमिकता दिएर अहिले काम गरिरहेको छ ।” उक्त सडक सञ्जाल जोड्नका लागि करिब ३० अर्ब रुपियाँ लाग्ने अनुमान स्थानीय पूर्वाधार विकास विभाग (डोली) ले जनाएको छ ।

स्थानीय पूर्वाधार विकास विभागका प्रादेशिक एवं स्थानीय सडक सुधार कार्यक्रमका सिनियर डिभिजनल इन्जिनियर जनकराज पन्तले तीन वर्षमा स्थानीय तहको केन्द्रसम्म पक्की सडक पु¥याउने काम आंशिक रूपमा सम्पन्न हुने र ढिलोमा पाँच वर्षसम्म सबै काम सम्पन्न हुने गरी अहिले धमाधम काम भइरहेको बताउनुभयो । सडक सञ्जाल पुग्न बाँकी १६६ वटा स्थानीय तहमा गरी दुई हजार ५५९ किलोमिटर सडक निर्माण गर्न बाँकी छ ।

सबैभन्दा बढी कोशी प्रदेशका ५७ वटा स्थानीय तहमा गरी एक हजार ६४ किलोमिटर पक्की सडक पुर्‍याउन बाँकी छ । सबैभन्दा कम गण्डकी प्रदेशका नौ स्थानीय तहमा गरी १०४ किलोमिटर सडक पक्की बनाउन बाँकी रहेको विभागले जनाएको छ ।

उहाँका अनुसार त्यसका लागि सरकारले अहिले भौगोलिक अवस्था हेरेर एउटा कार्यालयले दुई वा तीन जिल्ला हेर्न गरी २९ वटा कार्यालय विस्तार गर्न लागेको छ । ती कार्यालयले अब स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जालले जोड्ने, कच्ची सडक नपुगेका आठ वटा स्थानीय तहमा कच्ची सडक पुर्‍याउने र वैकल्पिक राजमार्गमा बाढी र पहिरोले गर्दा क्षति पुर्‍याएका सडकको मर्मतसम्भार गरी नयाँ ट्र्याक खोल्ने काम गर्ने छ । त्यसका लागि १६६ वटै स्थानीय तहमा सडक पुर्‍याउने काम भइरहेको छ ।

बहुआयामिक नेटवर्क बन्ने

प्रदेशदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल निर्माण भएपछि सरकारको भौतिक र आर्थिक विकासका आधार तयार हुने, स्थानीय तहको केन्द्रदेखि प्रदेशको राजधानीसम्म जोडिने, एक स्थानमा उत्पादन भएको वस्तु र सामान अर्को स्थानमा पुर्‍याउन सहज हुने, शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधिको क्षेत्रमा भएका ज्ञान, सिप आदानप्रदान भई अन्तरप्रदेश र स्थानीय तहबिच अन्तरआबद्धता सहज हुने छ ।

उहाँले थप्नुभयो, “यसरी पक्की सडक सञ्जालले जोड्ने कार्यले स्थानीय तहको सदरमुकामदेखि प्रदेशको राजधानीसम्म बहुआयामिक नेटवर्क विकास हुने छ ।” सडक निर्माण गर्दा स्थानीय तहले सडक निर्माण कार्यलाई सहजीकरण गर्न नियमित अनुगमन गर्ने र निर्माण सम्पन्न भई हस्तान्तरण भएका सडकको मर्मतसम्भार गर्ने जिम्मेवारी स्थानीय तहको हुने छ । त्यस्तै सडकको नियमित मर्मतसम्भार तथा आवधिक मर्मतसम्भारलाई समेत प्राथमिकतामा राख्ने गरी पक्की सडक सञ्जाल निर्माण गर्ने कार्य अगाडि बढाइएको छ ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया