कार्तिक ४, २०८३ बुधबार October 21, 2026

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ले पेनको प्रशंसा

आफैँले पनि अमेरिकी न्याय प्रणाली राजनीतिक उद्देश्यका लागि प्रयोग भइरहेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले पेनलाई ‘रूढीवादी आवाज’ भन्दै प्रशंसा गर्नुभएको छ । तर सन् २०२७ को फ्रान्सेली राष्ट्रपति निर्वाचनमा उहाँलाई समर्थन गर्ने विषयमा भने ट्रम्पले स्पष्ट धारणा व्यक्त गर्नुभएन ।

अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पले फ्रान्सको अशान्तिलाई आप्रवासन र वामपन्थी राजनीतिविरुद्ध आफ्नो धारणा राख्ने अवसरका रूपमा प्रस्तुत गर्दै आउनुभएको छ ।

ले पेनलाई समर्थन गर्नुहुन्छ कि भनेर पत्रकारले सोध्दा ट्रम्पले आफूले उहाँलाई नभेटेको बताउँदै उहाँमाथि अन्याय भएको जस्तो लागेको उल्लेख गर्नुभयो । सन् २०२५ मार्चमा भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएकी ५८ वर्षीया ले पेनलाई सुरुमा पाँच वर्षसम्म निर्वाचनमा उम्मेदवार बन्न प्रतिबन्ध लगाइएको थियो । तर यस वर्ष पुनरावेदन अदालतको निर्णयले उहाँलाई सन् २०२७ को राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ ।

आफैँले पनि अमेरिकी न्याय प्रणाली राजनीतिक उद्देश्यका लागि प्रयोग भइरहेको आरोप लगाउँदै आउनुभएका ट्रम्पले ले पेनको मुद्दालाई त्यही सन्दर्भमा जोड्नुभयो । उहाँले हालै दक्षिण अमेरिकाका निर्वाचनमा आफूले समर्थन गरेका दक्षिणपन्थी नेताहरूको सफलताको पनि उल्लेख गर्नुभयो ।

फ्रान्सको अशान्तिबारे ट्रम्पले भन्नुभयो, “त्यो सामान्य दङ्गा वा विरोध प्रदर्शन थिएन, क्रान्तिजस्तै थियो र अझै जारी छ ।” यसअघि कान्सासमा आयोजित चुनावी सभामा उहाँले फ्रान्स आप्रवासी, जिहादी र कम्युनिस्टहरूबाट कब्जा गरिएको, लुटिएको र जलाइएको आरोप लगाउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया