काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा यस वर्षको विजयादशमी मनाउनुपरेको उल्लेख गर्दै दुःखमा परेका परिवारको पीडामा मलम लगाउन र आफ्नो खुसी अरूसँग बाँड्न आग्रह गरेका छन् ।
विजयादशमीका अवसरमा बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति थापाले दसैँको खुसी आफ्नो घरपरिवार र घरआँगनमा मात्र सीमित नराखी दुःख र कठिनाइमा रहेका व्यक्तिहरूसँग पनि बाँड्नुपर्ने बताएका हुन् ।
उनले विपत्ति र विभिन्न कठिनाइका कारण धेरै परिवार दुःख, पीडा र समस्यामा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा एकअर्काप्रति सहयोगी र संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन् ।
‘धेरै परिवार दुःख, पीडा र कठिनाइमा छन् । यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस्’, उनले भनेका छन्, ‘दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ।’
थापाले विजयादशमीले मानिसलाई आफूभित्रका कमजोरीमाथि विजय प्राप्त गर्ने आत्मबल प्रदान गर्नुका साथै अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
दसैँलाई आपसी प्रेम, सद्भाव, मेलमिलाप र पारिवारिक एकताको पर्वका रूपमा लिइन्छ । यस्तो पर्वमा विपत्तिमा परेका, दुःख भोगिरहेका र विभिन्न कठिनाइका कारण चाडपर्वको खुसीबाट टाढा रहेका परिवारलाई सम्झनु आवश्यक रहेको उनको सन्देशको भाव छ ।
सभापति थापाको शुभकामना सन्देशले चाडपर्वको खुसी व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी दुःखमा परेका समुदायसँग सहानुभूति, सहयोग र मानवीय संवेदना बाँड्नुपर्ने सन्देश दिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया