कार्तिक १४, २०८३ शनिबार October 31, 2026

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १३ कात्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका पहाडी तथा तराई तथा मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो अधिकांश स्थानमा बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने महाशाखाको पूर्वानुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षा हुने छ ।

मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्ने सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपातको सम्भावना पनि छ ।

त्यसैगरी, आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्नाका साथै मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । केही स्थानमा भारी वर्षा तथा हिमपात हुने महाशाखाको अनुमान छ ।

महाशाखाले आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपात हुनसक्ने जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना छ ।

सम्भावित वर्षाका कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य आज र भोलि नगर्न अनुरोध गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरेको छ । साथै, त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने
२०८३ कार्तिक १४, शनिबार
फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै
२०८३ कार्तिक १४, शनिबार
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण
२०८३ कार्तिक १४, शनिबार
भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध
२०८३ कार्तिक १४, शनिबार
रास्वपा सचिवालय बैठक बस्दै
२०८३ कार्तिक १४, शनिबार
बीपी र कर्णाली राजमार्ग पूर्ण अवरुद्ध, बुढीगण्डकीको पुल बगाउँदा दुई वडा सडक सम्पर्कविहीन
२०८३ कार्तिक १४, शनिबार
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दै, २४ घण्टामा ३१४ सवारी कारबाहीमा
२०८३ कार्तिक १४, शनिबार